Techie IT
Samayabaddha
मंगलबार, ४ चैत्र, २०८१

सिञ्जा सभ्यतालाई विश्वसम्पदाको सूचीमा राख्नका लागि अध्ययन टोली पुग्यो


जुम्ला, ५ चैत । नेपाली ‘खस’ भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यतालाई विश्वसम्पदाको सूचीमा राख्नका लागि अध्ययन टोली यहाँ पुगेको छ ।

केन्द्रीय पुरातत्व विभागको टोली यहाँ पुगेर विश्वसम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन तथा स्थानीयसँग छलफल गरिरहेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

सिञ्जा सभ्यताको ऐतिहास, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले यहाँका स्थानीयसँग छलफल गरिरहेको छ । उनले भने, “विभागका महानिर्देशक सौभाग्य प्रधानांग नेतृत्वको टोली सिञ्जा उपत्यकामा पुगेर अध्ययन थालेको हो ।” टोलीले यस क्षेत्रको हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालगायत स्थानमा रहेका सभ्यताका बारेमा छलफल थालेको अध्यक्ष धितालको भनाइ छ ।

“सिञ्जा गाउँपालिकामा पुरातत्व विभागको टोली पहिलोपटक जुम्ला आइपुगेको हो”, प्रधानांगले भने, “सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्ने विषयमा यहाँका स्थानीय, स्थानीय सरकार र सरोकार भएका निकायका प्रतिनिधिसँग पहिलो चरणमा छलफल भएको छ ।”

सिञ्जालाई विश्वसम्पदा सूची राख्न सबैको सुझाव आएको बताउँदै उनले आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्नुपर्नेमा जोड दिए । पुरातत्व विभागले मुलुकका १५ वटा नयाँ क्षेत्र विश्वसम्पदा सूचीमा राख्न तयारी थालिरहेको छ ।

कर्णाली प्रदेशका सिञ्जा सभ्यता र दैलेखको दुल्लुका २२ देवल पनि रहेका छन् । विभागले सिञ्जालाई विश्वसम्पदा सूचीमा समावेश गर्ने काम अघि बढाएको विभागका महानिर्देशक प्रधानांगको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्न विभागसँग पहल थालिएको बताइन् । रासस


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट