Techie IT
Samayabaddha
बुधबार, ५ चैत्र, २०८१

भूटानले राजनीतिक बन्दीमाथि गरिरहेको दमनको राष्ट्रसङ्घीय कार्यदलद्वारा निन्दा


काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय कार्यदलले भूटानले राजनीतिक बन्दीहरूलाई स्वेच्छाचारी नजरबन्दमा राखेको र मानव अधिकार उल्लङ्घन गरेको भन्दै निन्दा गरेको छ ।

भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित विश्वव्यापी अभियान (जीसीआरपीपीब) ले प्रेस विज्ञप्ति निकालेर भूटानले राजनीतिक बन्दीहरूलाई राजनीतिक कारण देखाई नजरबन्दमा राखेर दमन गरिरहेको भन्दै निन्दा गरेको हो ।

प्रतिवेदनले तीन नेपालीभाषी भूटानी नागरिक बिर्खबहादुर क्षेत्री, कुमार गौतम र सुनमान गुरुङलाई प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गर्दै उनीहरूलाई सन् २००८ देखि अमानवीय रूपमा जेलमा राखिएको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार यी तीनसहित कम्तीमा ३२ जना राजनीतिक बन्दीहरू अन्यायपूर्ण रूपमा जेलमा रहेका उल्लेख छ ।

भूटान सरकारले न्यायिक प्रक्रियाविना नै पक्राउ गरेको, असहमति जनाउने व्यक्तिहरूलाई दमन गरिरहेको तथा विशेष रूपमा नेपालीभाषी भूटानी समुदाय राजनीतिक प्रतिशोधको निशानामा परिरहेका प्रतिवेदनको ठहर छ ।

भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित विश्वव्यापी अभियानले संयुक्त राष्ट्रसङ्घको यो प्रतिवेदनलाई स्वागत गर्दै भूटान सरकारलाई तुरुन्त सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्न, कानूनी सुधार गर्न र स्वतन्त्र अनुसन्धानको अनुमति दिन पनि माग गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट