मतपेटिकामा लगाइएको सिलबन्दी नम्बर मेल नखाएपछि ठाकुरराम क्याम्पसमा मतगणना स्थगित

वीरगन्ज, ७ चैत । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजेदेखि अवरुद्ध भएको छ। क्याम्पस भवनमै बुधबार साँझ ५ बजेदेखि सुरु भई जारी रहेको मतगणनाका क्रममा बिहीबार दिउँसो २ बजेतिर मतपेटिकामा लगाइएको सिलबन्दी नम्बर मेल नखाएपछि मतगणना अवरुद्ध भएको हो।
मंगलबार मतदान सकिएलगत्तै निर्वाचन समितिले मतपेटिका सिल गरेर मुचुल्का उठाउने क्रममा उम्मेदवारका प्रतिनिधिहरूलाई सिलबन्दी नम्बर दिएको थियो। बिहीबार दिउँसो केही मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधिसँग रहेको सिलबन्दी नम्बर र मतपेटिकामा रहेको सिलबन्दी नम्बर मेल नखाएपछि विवाद भई मतगणना अवरुद्ध भएको हो।
मतपेटिकाको सिलबन्दी नम्बर फरक परेपछि मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधिहरूले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। विवाद भइरहेको मतगणनास्थलमा अहिले पत्रकारहरूलाई प्रवेशमा निषेध गरिएको छ।
मतगणना अवरुद्ध हुनुअघि निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सभापति पदमा नेविसंघबाट विद्रोह गरेर नेपाल विद्यार्थी समूह नामबाट उम्मेदवार बनेका राज कुमार यादव अग्रस्थानमा छन्। यादव ४ सय २० मतका साथ अगाडि छन्।
यादव कांगेस नेता शेखर कोइराला पक्षधरका उम्मेदवार हुन्। यादवलाई नेविसंघका उम्मेदवार विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन्। यस्तै तेस्रो स्थानमा रहेका समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादवले २२१ मत, सुधिर पटेल समूहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन्।
क्याम्पसमा १६ वर्षपछि यसपालि भएको स्ववियु निर्वाचनमा सभापति पदमा १४ जना उम्मेदवार छन्। गत मंगलबार भएको निर्वाचनमा १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत मात्रै खसेको थियो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया