काठमाडौंकै विद्यालयमा खेताला शिक्षक, परे अख्तियारको फेला

काठमाठौं, ७ चैत । नियुक्ति पाएको शिक्षक अनुपस्थित भएको बेला खेताला शिक्षक राखेर तलब दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर मावि, काठमाडौंका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कुलेश्वर माविका प्रधानाध्यापक सानुकान्छा नेपाल, सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालयको लेखापाल स्मृती रेग्मी र खेताला शिक्षक बनेकी श्रुती भण्डारी भनिने अम्बिका घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारको आरोप अनुसार, उनीहरूले १ फागुन, २०८० देखि असार, २०८१ सम्म अम्बिकालाई खेताला शिक्षकको रुपमा नियुक्त गरेका थिए । अख्तियारले करार शिक्षक विद्यालयमा अनुपस्थित भएका बेला काठमाडौं महानगरपालिकालाई जानकारी नगराई खेताला शिक्षक नियुक्त गरेको आरोप लगाएको छ ।
प्रधानाध्यापक सानुकान्छा नेपालले राहत दरबन्दीका करार शिक्षक विद्यालयमा अनुपस्थित भएका बेला खेताला शिक्षक नियुक्त गरेको तर तलबभत्ता भने मूल शिक्षकलाई नै चेकमार्फत भुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
अख्तियारका अनुसार, सहायक प्रधानाध्यापक शिवहरि घिमिरेले आफ्नो नाता पर्ने अम्बिका घिमिरेलाई खेताला शिक्षक नियुक्त गरेकाले उनलाई पनि मुद्दा चलाइएको हो ।
क्याटेगोरी : जनमञ्च, रोचक, समाचार
प्रतिक्रिया