साँझको समयमा २३० मेगवाट बिजुली दिन भारतसँग नेपालको आग्रह

काठमाण्डौं, ८ चैत । सरकारले साँझको समयमा २३० मेगवाट बिजुली दिन भारतसँग आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फ भारत सरकारलाई औपचारिक आग्रह गरेको हो ।
दैनिक २० घण्टासम्म करिब ६०० मेगावाट बिजुली आयात गरेर आन्तरिक माग पूरा गरिरहेको नेपाललाई भारतले गएको सोमवारदेखि सोलार आवर अर्थात, बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै बिजुली आयात अनुमति दिएको छ । साँझमा आयात रोकिएपछि उद्योगहरुमा लोडसेडिङ हुन थालेको छ ।
सरकारले उद्योगहरुमा लोडसेडिङ भएको र यसले अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको भन्दै भारतलाई बिजुली पठाइदिन आग्रह गरेको हो । नेपालको धेरै जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार हिउँदमा १६०० मेगावाट बिजुलीको औसत माग छ । हिउँदमा १००० मेगावाटभन्दा कम आन्तरिक उत्पादन हुन्छ ।
यसैबीच निजी क्षेत्रका दुई व्यवसायिक संस्थाले उद्योगहरुमा विद्युत कटौती नगरी तत्काल नियमित गर्न सरकारसँग अनुरोध गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले विज्ञप्ति निकालेर अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया