Techie IT
Samayabaddha
आईतबार, ९ चैत्र, २०८१

पर्वतमा अन्तरजातीय विवाह गरेका २८ जोडीलाई सम्मान


पर्वत, ९ चैत । जिल्लाको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गरेका गाउँपालिकाभित्रका २८ जोडीहरूलाई सम्मान गरेको छ।

समाजमा समानता, मेलमिलाप र आपसी सद्भावलाई प्रवद्र्धन गर्नका लागि उनीहरूलाई सम्मान गरिएको हो। ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रति जोडी पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

आर्थिक वर्ष २०८१०८२ को लक्षित वर्गतर्फको स्वीकृत वार्षिक बजेट एवं कार्यक्रमअनुसार सम्मान गर्न लागिएको हो। समाजमा रहेको जातीय विभेद, हिंसा, कुरीति, कु–संस्कारको अन्त्य गरी समुन्नत, समावेशी एवं छुवाछुतमुक्त गाउँपालिका बनाउने प्रयासका लागि अन्तरजातीय विवाहअन्तर्गत दलित समुदायसँग गैर दलितले विवाह गरेका भएमा उनीहरूलाई सम्मान गर्नका लागि गाउँपालिकाले प्रस्ताव आह्वान गरेको थियो।

देशमा सङ्घीयता लागू भएको २०७४ सालयता हालसम्म विवाह गरेका गाउँपालिकाभित्रका स्थायी नागरिकलाई सम्मान गर्नको लागि त्यस्ता दम्पतिहरुबाट फागुन १५ गतेभित्रमा निवेदन माग गरिएको थियो। यो अवधिमा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा निवेदन पेस गरेका जोडीहरूलाई सम्मान गरिएको हो।

गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई नेपाली र गाउँपालिका अध्यक्ष आचार्यले ती जोडीहरूलाई सम्मान–पत्र प्रदान गरेर सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा बोल्दै सांसद नेपालीले अन्तरजातीय विवाहलाई समाजले स्वीकार गर्न अझै पनि कठिन भएको बताउँदै सम्मान कार्यक्रमले विवाहित जोडीलाई प्रोत्साहन मिल्नुका साथै समाजमा जनचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरिन्। समाजमा भएको जातीय भेदभाव उन्मूलनका लागि स्थानीय सरकारले यस्तै अन्य सचेतनाका कार्यक्रमलाई पनि जोड दिनुपर्ने उनको भनाइ छ।

यस्तै, गाउँपालिकाका अध्यक्ष आचार्यले समाजमा व्याप्त विभाजनको सोचलाई तोड्दै, प्रेम, विश्वास र आपसी समझदारीमा सहयोग गर्न यो अभ्यास गरिएको बताए। ‘हाम्रो समाज विविधतामा एकताले भरिपूर्ण छ। जातीय भेदभाव हटाउँदै सबै नागरिकलाई समान अवसर र सम्मान दिन यो कार्यक्रम गरिएको हो। दलित र गैर–दलितबिचको विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र नभएर सामाजिक एकताको उदाहरण हो’, उनले भने, ‘जातीय विभाजनका कारण कोही पनि सामाजिक, आर्थिक वा भावनात्मक रूपमा पछाडि नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। यस्तो कदमले सामाजिक चेतना वृद्धि गर्न, परम्परागत सोचमा परिवर्तन ल्याउन, र सामाजिक सद्भाव बढाउन ठुलो मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ।’

सम्मानका लागि पति र पत्नी दुवैको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसराइ गरी जलजला गाउँपालिका भित्र बसोबास गरेको भए बसाई सराई प्रमाणपत्रको प्रतिलिपि बुझाएर विवाहित जोडीहरूले सम्मानका लागि प्रस्ताव पेस गर्नुपर्ने भनिएको थियो।

गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख बिन्दु शर्माका अनुसार यो कार्यक्रम सञ्चालन गर्नको लागि चालु आर्थिक वर्षमा डेढ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।


क्याटेगोरी : जनमञ्च, पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट