Techie IT
Samayabaddha
आईतबार, ९ चैत्र, २०८१

१५ दिनदेखि भारत, अमेरिका, चीन, जापानलगायत देशका एक सयभन्दा बढी नागरिक कैलालीको जंगलमा किन बसिरहेका छन् ?

२४ घण्टाभित्र ठाउँ छोड्न जिल्ला प्रहरी कार्यालय कैलालीको निर्देशन


कैलाली, ९ चैत। कैलालीको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकलाई २४ घण्टाभित्र ठाउँ छोड्न जिल्ला प्रहरी कार्यालय कैलालीले निर्देशन दिइएको छ  । करिब १५ दिनदेखि भारत, अमेरिका, चीन जापानलगायत देशका एक सयभन्दा बढी नागरिक बसोबास गरेर अस्वाभाविक गतिविधि गर्दै आएको स्थानीयले गुनासो गरेपछि बिहीबार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको समूहले स्थलगत अनुगमन गरेको थियो ।

सिमली पुगेका कैलालीका जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सरकारी जङ्गलमा कुनै पनि निकायबाट अनुमति नलिई बसेकाले उनीहरूलाई ठाउँ छोड्न २४ घण्टाको समय दिइएको बताए। रेन्बो फ्यामिली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र आफ्नो गन्तव्यमा जान निर्देशन दिएका हुन् । निर्देशन अनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ । प्रजिअ हमालले भने, “उहाँहरू कुनै निकायको अनुमति नलिएर सिमलीको वन क्षेत्रमा बस्दै आएको देखिएको छ । उहाँहरूसँग पर्यटन भिसाबाहेक पर्यटन बोर्डबाट अरू कुनै पनि अनुमति छैन ।”

अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई आफूहरू प्रकृतिमा रमाउने मान्छे भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरूलाई जङ्गल क्षेत्र छाड्न प्रशासनले निर्देशन दिएको हो । अनुगमनका क्रममा उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिइएको पाइए पनि शान्तिसुरक्षामा असर पर्ने खालका गतिविधि गरेको नपाइएको प्रजिअ हमालले बताए । नेपालमा यो समुदायको लामो समयको बसाइ र गतिविधिलाई स्थानीयले असहज र अस्वाभाविक रूपमा लिने गरेका छन् । घोडाघोडीका नगरप्रमुख खड्कबहादुर रावतले रेन्बो फ्यामिली एक गैरसङ्गठित अन्तर्राष्ट्रिय समुदाय रहेको र उनीहरू प्राकृतिक जीवनशैली, शान्ति, प्रेम, आध्यात्मिकता, र स्वतन्त्रतामा रमाउने समूह रहेको जनाउँदै उनीहरू कानुनी रूपमै नेपाल भित्रिएको र घोडाघोडीमा बसेकाले पर्यटन प्रवर्र्धनमा सहयोग पुग्ने बताएका थिए। इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउदको अनुसार पर्यटकहरू क्रमिक रूपमा जङ्गल छाड्दैछन् ।

पत्रकारमाथि हातपात

घोडाघोडी नगरपालिकाका पर्यटन व्यवसायी डबल शाहले विदेशी नागरिकसँग समन्वय गरेर उनीहरूलाई उक्त क्षेत्रमा बस्ने वातावरण बनाएको विषयमा समाचार सम्प्रेषण गरेपछि कैलालीको सुखडका पत्रकार प्रकाश मिश्रमाथि बिहीबार दिउँसो हातपातसमेत भएको थियो । घोडाघोडी नगरपालिका–१० को पहलमानपुरको सिर्जना होटेलका सञ्चालक चेतबहादुर सिंह र सोही नगरपालिका–१ को अजुवा क्याफेका सञ्चालक शाहले हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा मिश्रले किटानी जाहेरी दिएका छन् । मिश्रले विदेशी नागरिकको घोडाघोडीको सिमली जङ्गल क्षेत्रमा रहस्मय जमघट रहेको र त्यसमा होटेल व्यवसायी शाहले समन्वय गरिरहेको समाचार लेखेका थिए ।

के हो रेन्बो फ्यामिली ग्यादरिङ ?

विकिपिडियाका अनुसार रेन्बो फ्यामिली एक स्वतन्त्र, प्राकृतिक जीवनशैली अपनाउने र शान्तिको पक्षमा उभिने समुदाय हो । यसको इतिहास १९७० को दशकको अमेरिकी हिप्पी आन्दोलनबाट सुरु भएको र हाल यो विश्वभर फैलिएको छ । सन् १९८० र ९० को दशकमा अमेरिकाबाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको बताइन्छ । रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु रहेको बताइन्छ । सन् २०२३ मा अछामको रामारोशनमा तीन सयको हाराहारीमा जम्मा भएका रेम्बो फ्यामिलीका सदस्य सन् २०२४ मा गुल्मीमा जम्मा भएका थिए । पर्यटन व्यवसायी डबल शाहले नेपालमा रेम्बो फ्यामिलीलाई सन् २०२५ मा घोडाघोडी ल्याउन पहल गर्नुभएको थियो । पर्यटनव्यवसायी शाहकै मध्यस्थतामा घोडाघोडी नगरपालिकाको आयोजनामा सांस्कृतिक आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो ।


क्याटेगोरी : पालिका, प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट