Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

गोरखनाथसँग पूर्वराजपरिवारको कस्तो साइनो ?


काठमाडौं, १० चैत । गणतन्त्र स्थापना भएपछि पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गर्नुको प्रतीकात्मक र राजनीतिक अर्थ रहेको उनका समर्थकहरूले बताउने गरेका छन् ।

करिब दुई साताअघि पोखराबाट फर्कने क्रममा राजधानीमा ठूलो सङ्ख्यामा मानिसहरूबाट स्वागत पाएका पूर्वराजा त्यसयता पहिलो पटक राजधानीबाहिरको कार्यक्रममा शुक्रवार गोरखास्थित गोरखनाथ मन्दिरमा पुगेर दुई घण्टा पूजा अर्चना गरे ।

गोरखनाथलाई नेपालको पूर्वराजपरिवारले आफ्नो इष्ट देव मान्ने गरेको छ । किंवदन्तीहरूमा गोरखनाथकै आशीर्वाद पाएका कारण शाहवंशले राजकाज सम्हाल्ने अवसर पाएको उल्लेख गरिएको पाइन्छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेका संस्कृतिविद् जगमान गुरुङ गोरखा वंशावलीमा समेत लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहसामु गोरखनाथ प्रकट भएको प्रसङ्ग उल्लेख गरिएको बताउँछन्।

द्रव्य शाहलाई उनकी आमाले गोठमा बस्न पठाएको उल्लेख गर्दै भिख माग्न आइपुगेका एक कनफट्टा जोगीलाई साउनको महिनामा उनले खीर खुवाएको गुरुङले चर्चा गर्छन् ।

‘द्रव्य शाह चामल दिन गएका थिए। तर उनले म खीर खान्छु भनेपछि घाँटीसम्म आउने गरी उनले खीर भोजन गराए। ती व्यक्ति गोरखनाथ रहेछन्। अनि त्यसबेला तिमीलाई गोरखाको भोग र तिम्रा सन्तानलाई नेपालको भोग भनेर उहाँले आशीर्वाद दिनुभयो भन्ने किंवदन्ती छ।’ नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायण शाहसामु पनि बाल्यकालमा गोरखनाथ प्रकट भएको किंवदन्ती पनि छ।

गुरुङका अनुसार गोरखा दरबार मुन्तिरको गुफामा पृथ्वीनारायण शाहसामु देखा परेका गोरखनाथले आफूलाई दही ल्याइदिन माग गरेका थिए। राजा पृथ्वीनारायण शाहले आफ्नी आमासँग मागेर ल्याइदिएको दही गोरखनाथले खाएको र राजालाई हात थाप्न लगाएको विश्वास गरिन्छ।

गुरुङले भने, ‘अनि आफूले खाएको दही ओकलेर पृथ्वीनारायण शाहको हातमा राखिदिनुभयो, गुरु गोरखनाथले। घिन मानेर राजाले फ्याकिदिँदा त्यो उनको पाउमा पर्‍यो। त्यत्ति बेला गोरखनाथले यदि तिमीले यो खाएको भए तिम्रो भाग्य सिद्ध हुन्थ्यो, तिमिले खाएनौँ, तर तिम्रो पाउमा पर्‍यो, जहाँ जहाँ तिमीले टेक्छौँ त्यो तिम्रो हुन्छ भनेर वरदान दिएको हो भनेर गोरखा वंशावलीमा लेखिएको छ।’

कतिपयले नेपालको शाहवंश ११ पुस्तासम्म रहने आशीर्वाद गुरु गोरखनाथले राजा पृथ्वीनारायण शाहलाई दिएको विश्वास गर्छन्। सन् २००१ मा नारायणहिटी राजदरबारमा राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएपछि ज्ञानेन्द्र शाह दोस्रो पटक राजा बनेका थिए।

दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको सत्ता ढलेर मुलुक गणतन्त्रमा जान लाग्दा गोरखनाथले शाहवंशबारे गरेका भनिएको भविष्यवाणीबारे चर्चा हुने गरेका थिए। तर गुरुङजस्ता कतिपयले गोरखनाथले भन्दा पनि पृथ्वीनारायण शाहको पालामा काठमाण्डू जितेपछि उनी हनुमानढोकामा प्रवेश गर्न लाग्दा यस्तो कुरा उठेको बताउँछन्।

गुरुङले भने, ‘दरबार प्रवेश गरेपछि राजाले मैले दरबारमा प्रवेश गरेको साइत कतिको शुभ छ भनेर राजज्योतिषी कुलानन्द ढकाललाई प्रश्न गरेका थिए। त्यसपछि सात पुस्तालाई भोग पक्का छ, बाँकी विचार गरेर भनौँला भन्ने जवाफ उनले दिए। विचार गरेर बिन्ती गर्दा ११ पुस्ता पक्का भोग छ भने। एघार पुस्ताभन्दा माथि के गर्नुपर्छ भन्दा गोरखनाथ र गोरखकाली देवीको सेवा गर्नुपर्छ भनेका थिए।’

नेपालमा राजसंस्थाको पुनर्स्थापना र हिन्दू राष्ट्रको स्थापनाका लागि आगामी वैशाखमा गोरखा दरबारमा आफूहरूले दुईदिने अनुष्ठान आयोजना गर्न लागेको बताउने गुरुङ भन्छन् ‘अहिले गोरखकालीको, गोरखनाथको र वज्रभैरवको पूजा गरेर राजाले केही सोच बनाएको हुन सक्छ भनेर आकलन हामी गर्न सक्छौँ। त्यो भनेको नेपालमा राजा र धर्मको स्थापना गर्ने नै हो।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट