कर्णालीमा एकै दिन तीन सवारी दुर्घटनाः १४ जना घाइते

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार छुट्टाछुट्टै तीन वटा गाडी दुर्घटनामा १४ जना घाइते भएका छन् ।
एउटा ट्रक र एउटा विद्युतीय सवारी साधन दैलेखमा दुर्घटना भएका छन् भने कालिकोटमा बोलेरो गाडी दुर्घटना भएको छ ।
प्रहरीका अनुसार मंगलबार बेलुका ६ बजेतिर सुर्खेतबाट कालिकोट नरहरीनाथ गाउँपालिका–४ कुमालगाउँ भन्ने ठाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको बोलेरो गाडी सोही ठाउँको डाडामाडुमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
‘घाइतेहरूको अवस्था सबैको सामान्य नै छ,’ उनले भने, ‘गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबार २० मिटर तल खसेको छ ।’
दैलेख प्रहरीका अनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत भैरवी गाउँपालिका(२ रावतकोटमा विद्युतीय गाडी दुर्घटना भएको छ ।
दैलेख सदरमुकामदेखि पश्चिमको आठबिस नगरपालिकातिर जाँदे गरेको कर्णाली प्रदेश ०२००१ ज ०६२१ नम्बरको उक्त विद्युतीय गाडी तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले रातोपाटीलाई बताए ।
अपरान्ह भएको उक्त दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध र आठबिसका छन् ।
घाइतेमध्ये तीन जनाको जिल्ला अस्पताल दैलेखमा उपचारपश्चात् डिस्चार्ज भइसके भने एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । गाडी चालक फरार रहेका छन् भने गाडी सडकबाट करिब १५ मिटर तल खसेको छ ।
यस्तै दैलेखको पादुकामा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा दुई जना घाइते भएको उनले बताए । ‘उनीहरूको अवस्था सामान्य छ,’ उनले भने ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया