Techie IT
Samayabaddha
शनिबार, १५ चैत्र, २०८१

बाँकेको नरैनापुर र रामेछापमा आगलागी, २२ घरगोठ जलेर नष्ट


काठमाडौं । बाँकेको नरैनापुर र रामेछापमा भएको आगलागीबाट २२ घरगोठ जलेका छन् । नरैनापुर गाउँपालिकामा १७ घरगोठ र रामेछापमा पाँच घरगोठ जलेका हुन् । बाँकेको नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा हिजो दिउँसो आगलागी भएको थियो ।

जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले निभाएका सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिए । खरले छाएका र एकआपसमा जोडिएका घरगोठ रहेका अनि तीव्र हावाहुरीका कारण आगोले क्षति गरेको उनको भनाइ छ ।

आगलागीका कारण ६० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगलागी पीडितलाई राहत दिने बताएका छन् । हरेक वर्ष नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुँदै आएका छन् ।

यसैबीच रामेछापको रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रागाउँमा आगलागीबाट दुई वटा घर र तीनवटा गोठ जलेका छन् । घर नजिकैको जङ्गलमा लागेको आगो हिजो बस्तीमा पस्दा आगलागी भएको हो । हावाहुरीले आगो थप फैलिएको थियो ।

मानवीय क्षती नभए पनि घरमा भएका अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको रामेछाप नगरपालिका–५ का वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिए । रामेछाप प्रहरीले चैतरवैशाखमा आगलागीको जोखिम हुने भएकाले सर्तकता अपनाउन, वनजङ्गलमा डढेलो नलगाउन अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट