Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

राजाको पालामा खुलेको जडिबुटी कारखाना राजावादीबाटै ध्वस्त


काठमाडौं, १८ चैत । नेपालमा राजसंस्था पुनर्स्थापना गर्नुपर्ने माग गर्दै भएको आन्दोलन हिंसात्मक बन्दा आगजनीको सिकार भएको जडिबुटी कारखाना चार दशक भन्दाअघि राजाकै शासनकालमा खुलेको थियो।

सरकारी प्रतिवेदनहरूमा उल्लेख भएअनुसार विसं २०३७ साल पुस १७ गते उक्त कम्पनी स्थापना भएको हो। त्यसबेला नेपालमा निर्दलीय पञ्चायती व्यवस्था कायम थियो। पञ्चायतकालमा शासनसत्तामा राजाकै भूमिका प्रमुख हुने गर्थ्यो।

सार्वजनिक संस्थाहरूसम्बन्धी अर्थ मन्त्रालयले वार्षिक रूपमा निकाल्ने प्रतिवेदनमा उल्लेख भएअनुसार जडिबुटी कारखाना कम्पनी ऐन अन्तर्गत स्थापना भएको थियो। अहिले यो कम्पनी वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको छ। कम्पनीका उत्पादनहरू नेपालमा मात्र नभएर विदेशमा पनि बिक्री भइरहेको छ ।

कम्पनीकी महाप्रबन्धक डा संगीता यादव यादवका अनुसार विगत चार वर्षदेखि कम्पनीले युरोपेली मुलुक स्वीडेनमा आफ्ना उत्पादन निर्यात गरिरहेको छ।

त्यसबाहेक अनौपचारिक रूपमा नेपालीहरू रहेका सबैजसो देशमा आफ्ना उत्पादन पुग्ने गरेको यादवको भनाइ छ। कम्पनीले पुरानो मशिनबाट उत्पादन गर्ने अवस्था चाँडै बने पनि पुनः स्वचालित मशिनहरू र प्रयोगशाला बनाएर चलाउन आन्तरिक बजेटले सम्भव नभएको यादवले बताइन्।

उनले भनिन्, ‘शनिवार मन्त्रीज्यूहरू आएर पनि हेर्नुभयो। आइतवार मैले मन्त्रीज्यूलाई भेटेर ब्रिफ पनि गरेँ। उहाँहरूले स्वदेशी उत्पादनको पर्याय बनेको सञ्चो बनाउने कम्पनीलाई जसरी पनि चलाउने भन्नु भएको छ। त्यसै अनुसार बजेट व्यवस्थापन हुने आश्वासन दिनुभएकाले हामी आशावादी छौँ। चाँडै स्वचालित मशिन पनि जडान हुनेछ।’


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट