तीनकुने घटनाको निसानामा परेको मिडियाको पक्षमा निर्णय लिन पत्रकार महासंघले दियो सरकारलाई सात दिने अल्टिमेटम

काठमाडौं, १८ चैत । काठमाडौंको तीनकुनेको हिंसात्मक प्रदशर्नका बेला संचारमाध्यम र संचारकर्मीमाथि भएको हमला विरूद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले शनिबार सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघ केन्द्रीय समितिले संघीय सरकारका गृहमन्त्री रमेश लेखक, प्रदेश समितिहरूले मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री र शाखाहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सोमबार ध्यानाकर्षण पत्र बुझाएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।
महासंघले मृतक पत्रकारको न्याय र उनका परिवारलाई क्षतिपूर्ति, आगजनी र ढुंगामुढा गरी क्षति पुर्याइएका संचार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको उपचार, क्षति पुर्याइएका र हराएका संचार उपकरणको क्षतिपूर्ति तथा संचार गृह र संचारकर्मीको सुरक्षाको प्रत्याभूति नभए एक सातापछि सरकारविरूद्ध आन्दोलित हुने चेतावनी सरकारलाई दिएको छ ।
ध्यानाकर्षण पत्रमा आगोेमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको सम्बन्धमा छानबिन गरि दोषीहरूलाई तत्काल कारबाही गर्न र उनका परिवारलाई क्षतिपूर्ति दिन, क्षति पुर्याइएका अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजनलाई क्षतिपूर्ति दिन र घाइते पत्रकारलाई क्षतिपूर्तिसहित र निःशुल्क उपचार उपलब्ध गराउन माग गरिएको छ ।
यस्तै विगतदेखिकै प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा संलग्नहरूलाई कानुनी कारबाही र संचार गृह तथा संचारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन महासंघले माग गरेको छ । ती मागको यथोचित सम्बोधन नभए महासंघ सरकार विरूद्ध आन्दोलित हुने महासचिव दाहालले बताए ।
गृहमन्त्री लेखकलाई महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझाएको हो । आचार्यले महासंघका माग सम्बोधन गर्न अनुरोध गरेका छन् भने गृहमन्त्री लेखकले मागप्रति सरकार गम्भीर रहेकाले आवश्यक परामर्शपछि निर्णय लिइने जानकारी गराए ।
यसैगरी महासंघको टोलिले मारिएका पत्रकार रजकको परिवार र आफन्तसंग भेटेर छलफल गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया