आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख

युरोपेली सङ्घ (ईयू) की प्रमुख उर्सुला भन डेर लेयनले आवश्यक भएमा अमेरिकी करको बदला लिने योजना ईयूसँग रहेको बताउनुभएको छ । लेयनले यो हप्ता लागू हुने अमेरिकी करहरूको ‘वार्ता समाधान’ का लागि ईयूले अझै आशा गरेको तर आवश्यक परेमा जवाफी कारबाही गर्न ‘सबै उपकरण टेबलमा रहेको’ बताएकी एएफपीले जनाएको छ ।
युरोपेली संसद्को सत्रमा ईयू प्रमुख लेयनले आफूहरू वार्ताका लागि खुला रहेको तर आवश्यक परेमा बदला लिने आफूहरूको बलियो योजना रहेको बताइन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशविरुद्ध आज राति जतिसक्दो चाँडो करहरूको नयाँ समूह घोषणा गर्ने तयारी गर्नुभएको खबरमा उल्लेख छ । यसलाई उनले कथित अनुचित व्यापार असन्तुलनलाई सुधार गर्न ‘मुक्ति दिवस’ भनेका छन् । ईयूले २७–देश ब्लकको व्यापार नीतिको नेतृत्व गर्दछ र व्यापार युद्धबाट बच्न अमेरिकासँग छलफलमा जोड दिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक कर रणनीतिले विश्वव्यापी व्यापार युद्धको डर बढाइरहेको छ । चीन, क्यानडा र ईयूजस्ता प्रमुख व्यापारिक साझेदारहरूको प्रतिशोधको शृङ्खला प्रतिक्रियाको जोखिम उत्पन्न गर्दैछ ।
जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि ईयू पर्सि बिहीवारदेखि लागू हुने अटो आयातमा २५ प्रतिशत करसहित धेरै अमेरिकी कर घोषणाद्वारा प्रभावित भइसकेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया