Techie IT
Samayabaddha
शुक्रबार, २८ चैत्र, २०८१

जाजरकोटमा भूकम्पपछि स्थानीयवासी राति अबेरसम्म खुला ठाउँमा


काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर हिजो बेलुकी लगातार दुईवटा भूकम्प गएको छ । लगातार दुई भूकम्पको कम्पन जाजरकोट, सल्यान, रुकुम, दैलेख, सुर्खेतलगायतका जिल्लामा महसूस गरियो । स्थानियवासी राति अबेरसम्म खुला ठाउँमा बसेका थिए ।

कुशे गाउँपालिका–९ पैक केन्द्रविन्दु रहेको पहिलो भूकम्प बेलुकी ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि ८ बजेर १० मिनेटमा गएको थियो ।

पहिलो भूकम्प ५।२ म्याग्निच्युडको र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले कुशे गाउँपालिकामा केही घरहरु चर्किएका तर अरु क्षति नभएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले भत्केका घर, भुइँचालोको बेला भागदौडमा चोटपटक लागेका नागरिकको उद्धार गर्न राति नै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

२०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका एक सय ५४ जनाको मृत्यु भएको थियो ।

जाजरकोट, रुकुमपश्चिम, सल्यानलगायतका जिल्लामा निजी घर, विद्यालय र सरकारी भवनमा क्षति भएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट