देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, सङ्घीय राजधानी काठमाण्डौ र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मिकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
चैत र असोजको नवरात्रलाई जाग्रत दशैंका रूपमा महत्त्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ ।
मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्त्व रहेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि आज मेला लागेको छ । यो मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजा गर्छन् । रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया