काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थकर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा एक हप्तायता कायम रहेको प्रदूषण घट्ने र बढ्ने भइरहेको छ ।
हिजो दिउँसो केही कम भए पनि रातिदेखि प्रदूषण फेरि बढेको छ । हिजो काठमाडौं उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ८० आसपासमा थियो । रातिदेखि फेरि दुई सयभन्दा माथि पुगेको छ ।
एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँगसम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् ।
यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरु अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरु बताउँछन् ।
वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।
यस्तै प्रदूषण अत्याधिक बढेकोले घटाउन सरकारले प्रयास गर्नुपर्ने विज्ञहरु बताउँछन् । तर सरकारी निकायहरुले सावधानी अपाउनु भनेर विज्ञप्ति निकाल्नेबाहेक अरु ठोस काम गरेका छैनन् ।
काठमाण्डौमा यसबेला वायु गुणस्तर खराव हुनुमा यहाँको कचौरा आकारको भौगोलिक स्वरुपले साथ दिएको छ भने कषि अवशेष जलाउने, गाडीको धुवाँ, निर्माण कार्यबाट निस्कने धुलो, वन डढेलो लगायतले प्रदूषण बढाइरहेको छ ।
प्रदूषण बढाउने गतिविधि नगर्न र यसलाई नियन्त्रण गर्नको लागि ठोस योजना ल्याउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया