Techie IT
Samayabaddha
मंगलबार, २५ चैत्र, २०८१

आज काठमाडौंसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, वायू प्रदूषण घटाउन सहयोग पुग्ने


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीनरचार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् ।

बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकी मौसमविद् शान्ति कँडेलले काठमाण्डौ उपत्यकामा आज दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेकाले वायु प्रदूषण पनि कम हुन सक्ने बताउनुभयो ।

छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरी पनि चल्ने सम्भावना देखिएकाले हिजोअस्तिको तुलनामा प्रदूषण कम हुने उनको भनाइ छ ।

यतिखेर भने काठमाडौंमा हिजोअस्ति जत्तिकै प्रदूषण छ र विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाडौंको एक्यूआई २४६ छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको मौसम बदली हुनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै ठाउँ तथा देशका बाँकी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट