दाउन्नेमा आजदेखि दैनिक ६ घण्टासम्म सडक बन्द हुने

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि गाडी बन्द गरेर काम हुने भएको छ ।
आजदेखि चैत्र ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख एक गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी रोक्ने निर्णय भएको हो । सडक विभागको आयोजना निर्देशनालेयले गाडी बन्द हुने समयमा रोक्ने ठाउँसमेत सार्वजनिक गरेको छ ।
आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ । मालवाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा रोक्नको लागि ठाउँ छुट्याइएको छ ।
त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक गाडी चिसापानी–बर्दघाट र मालवाहक गाडी ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने आयोजनाले जनाएको छ ।
गाडी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत आयोजनाले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया