ग्यास सिलिण्डर पड्किएर आगलागी भएको अछामको जयगढ बजारमा सात करोड रुपैयाँभन्दा बढी क्षति

अछाम, २७ चैत । घरमा राखेको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको जयगढ बजारमा सात करोड रुपैयाँभन्दा बढी क्षति भएको आँकलन गरिएको छ । जयगढ बजारमा रहेका २७ वटा घरपसल, सामग्री गरेर सात करोडभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
आगलागीमा ढुंगामाटोका १०, जस्तापाताका १५, पक्की दुई घर पसल जलेर नष्ट भएको छ । आगलागीबाट सुनचाँदी, कपडा, स्थानीय सामग्री, खुद्रा पसलसँगै घरहरु आगजनीमा परेर जलेका छन् । आगलागीबाट भएको धनमालको क्षतिका बारेमा थप विवरणहरु संकलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । आधा रातिसम्म आगलागी नियन्त्रणमा केन्द्रित भएको र ठुलो क्षति भएकाले विवरण संकलनको काम भइरहेको बताइएको छ ।
स्थानीय पुष्पराज शर्माको आइएमइ सेन्टरबाट बेलुकी करिब साढे ७ बजेटबाट भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । बजारको साँघुरो सडक, नजिकमा पानीको स्रोत नहुनु र जिल्लामा एक मात्र दमकल भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको बताइएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको प्रयासपछि लामो समय लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो । बान्नीगढी जयगढ गाउँपालिकाको कार्यालयसँगै जोडिएको जयगढ बजारका साथै नजिकै रहेको खर मेलामा आगलागी भएपछि बजार सकिने चिन्तामा स्थानीय रहेका थिए ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया