रेमिटेन्स बढेको बढैं, राज्यकोषमा विदेशी मुद्रा संचिति २४ खर्ब ९ अर्ब

काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनासम्ममा रेमिटेन्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ आएको छ । यो गत साउनदेखि फागुनसम्मको कुल रेमिट्यान्सलाई प्रतिमहिना औषतमा भाग लगाउने हो भने एक खर्ब ३१ अर्ब ४७ करोड हुन आउँछ । राष्ट्र बैंकले बुधबार जारी गरेको आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिटेन्स अमेरिकी डलरमा ७ अर्ब ७४ करोड आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार नेपालको राज्य कोषमा विदेशी विनिमय संचिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । यो फागुनसम्ममा महँगी (मुद्रास्फीति) ३.७५ प्रतिशत रहेको छ । यस्तै यो महिनासम्ममा आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ ।
रेमिटेन्स आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतले र अमेरिकी डलरमा ६.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ३१० अर्ब ३७ करोडले बचतमा रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत रहेको बैंकले जनाएको छ ।
गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४ सय ३ रहेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया