बाँकेको यातायात व्यवस्था कार्यालयबाट कम्प्युटर अपरेटरसहित चार जना अख्तियारको नियन्त्रणमा, तीन करोड भन्दा बढी रकम कलेक्सन

जमुनाह, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अपरेटरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जनालाई बुधवार नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
ठाकुर सहित सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरद कुमार गोराथोकी अखितयारले नियन्त्रणमा लिएको हो ।
उनीहरू चार जनाले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रूपमा खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरूले प्रयोग गर्ने गरेका विद्युतीय उपकरणसहित बाँके जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया