Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, जिल्ला अदालत काठमाडौंमा लगिने


काठमाडौं, २९ चैत । दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइपुर्‍याइएको छ। काँकटभिट्टा नाकाहुँदै झापा ल्याइएका उनलाई भद्रपुर विमानस्थलबाट बुद्धएयरको जहाजमार्फत् काठमाडौं ल्याइएको हो। उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने प्रहरीको तयारी छ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न प्रसाईंलाई म्याद थपका लागि अदालत लगिने जानकारी दिए। उनले भने,’प्रसाईंविरुद्ध राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता भएको छ। सोही कसूरमा अनुसन्धान गर्न प्रसाईंलाई अदालत लैजाने तयारी छ।’

राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी आजै बिहान झापा ल्याइएको हो। भद्रपुर विमानस्थल ल्याउनुअघि प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थियो। उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खडकालाई पनि काठमाडौं ल्याइएको छ। दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रसाईंसँगै खड्का पनि भेटिएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको हो। प्रसाईं चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए। प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो।

राजावादीको प्रदर्शनमा आन्दोनकारीहरूलाई उक्साएर विध्वंशकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,महामन्त्री धवलशमशेर राणा प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसूरमा मुद्दा चलाइएको छ।

तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुईजनाको ज्यान गएको थियो भने सुरक्षाकर्मीसहित १३० बढी घाइते भएका थिए।

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट