दुर्गा प्रसाईंलाई म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालयमा

काठमाडौं, २९ चैत । राजावादी आन्दोलनका विवादास्पद कमान्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको छ । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनका नाइके प्रसाईंलाई म्याद थपको प्रक्रियाका लागि सरकारी वकिल कार्यालयमा लगिएको हो ।
सरकारी वकिलको कार्यालयमा अहिले प्रसाईंसहित उनका अंगरक्षक दीपक खड्कको बयान लिइँदै छ । प्रसाईंलाई आजै काठमाडौं जिल्ला अदालत पेस गर्ने तयारी छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो ।
प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।
घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया