Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

टोखाबाट बरामद २५ करोड विदेशी मुद्रा तस्करी प्रकरणमा दुई जनाविरुद्ध अभियोगपत्र, एक माओवादी कार्यकर्ता अझै फरार


काठमाडौँ । राजधानीको टोखा क्षेत्रबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले ट्रक चालकसमेत रहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका निवासी कुसाङ लामा (फुच्चे) र माओवादी कार्यकर्ता नारायण पौडेललाई मुख्य अभियुक्त बनाउँदै विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गरेको हो ।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार मंगलबार दर्ता गरिएको उक्त मुद्दामा विभागले २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । अनुसन्धानका क्रममा पौडेल फरार रहेका छन् भने उनका विरुद्ध पक्राउ पूर्जी जारी भइसकेको बताइएको छ ।

चैत ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट ‘फल्स बटम’ ट्रक प्रयोग गरी स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको थियो । ट्रक (ना ७ ख १६५२ नम्बर) मा लुकाइएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित कुसाङ लामालाई पक्राउ गरिएको थियो । बरामद विदेशी मुद्रासहित उनी राजस्व अनुसन्धान विभागको जिम्मामा बुझाइएको हो ।

पक्राउ परेका कुसाङ लामालाई मुद्दा अघि बढाइएको छ भने अर्का अभियुक्त माओवादी कार्यकर्ता नारायण पौडेल हालसम्म फरार रहेका छन् । पौडेलको परिवारका चार दाजुभाइमध्ये सबैजना कुनै न कुनै आपराधिक गतिविधिमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । कोही सुन तस्करीमा, कोही हुन्डी कारोबारमा, कोही विदेशी मुद्रासँग र कोही रक्तचन्दन तस्करी जस्ता अवैध क्रियाकलापमा मुछिएको पाइएको छ ।

यस घटनामा राजनीतिक ‘कनेक्सन’ को चर्चा पनि चलेको छ । अभियुक्त पौडेल माओवादी पार्टीसँग आबद्ध भएकोले तस्करी प्रकरणमा राजनीतिक संरक्षणको सम्भावना नकार्न नसकिने भन्दै विभिन्न निकायले गम्भीर छानबिनको माग गरेका छन् ।

यो प्रकरणले नेपालमा विदेशी मुद्रा तस्करीका सञ्जालहरू अझै सक्रिय रहेको र तीमा राजनीतिक पहुँचवालाहरूको संलग्नता रहेको आशंका थप बलियो बनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट