Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

क्यालिफोर्निया राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा


क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले बुधबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा एकपक्षीय रूपमा लागू गरिएका ट्यारिफ नीतिविरुद्ध अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। विश्व व्यापारमा व्यापक असर पार्ने गरी लागू गरिएका यस्ता ट्यारिफहरूले क्यालिफोर्नियाका नागरिकहरूलाई गहिरो असर पारेको भन्दै कानुनी कदम चालिएको हो। ट्रम्प प्रशासनको ट्यारिफ नीतिविरुद्ध कानुनी चुनौती दिने क्यालिफोर्निया अमेरिका कै पहिलो राज्य बनेको छ।

क्यालिफोर्निया सरकारले आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित विज्ञप्तिमा उल्लेख गरेको छ, “यी ट्यारिफहरूले आपूर्ति श्रृंखलामा अवरोध ल्याएका छन्, राज्य र नागरिकहरूको लागि लागत बढाएका छन्, र विश्वकै पाँचौं ठूलो अर्थतन्त्र भएको क्यालिफोर्नियामा अर्बौं डलरको क्षति पुर्‍याएका छन्।”

गभर्नर न्युसमले भने, “ट्रम्प प्रशासनका गैरकानुनी ट्यारिफहरूले क्यालिफोर्नियाली परिवार, व्यवसाय, र हाम्रो समग्र अर्थतन्त्रमा विनाश ल्याइरहेका छन् – मूल्य वृद्धिको मार परेको छ र रोजगारी जोखिममा परेको छ। हामी ती अमेरिकी परिवारहरूको पक्षमा उभिएका छौँ, जसले यो अराजकताकाे निरन्तरता सहन सक्दैनन्।”

उनले थपे, “अनिश्चितताको विषाक्त प्रभावबाट सबैभन्दा बढी प्रभावित राज्य क्यालिफोर्निया नै हुनेछ।”

व्यापारमा निर्भर अर्थतन्त्र संकटमा

क्यालिफोर्नियाको अर्थतन्त्र मुख्य रूपमा व्यापारमा निर्भर छ – विशेषगरी मेक्सिको, क्यानडा, र चीनजस्ता शीर्ष तीन व्यापार साझेदारहरूसँग। सन् २०२४ मा मात्रै क्यालिफोर्नियाले यी तीन देशबाट २०३ अर्ब अमेरिकी डलर बराबरका वस्तुहरू आयात गरेको थियो, जुन राज्यको कुल ४९१ अर्ब डलरको आयातको प्रमुख हिस्सा हो। यिनै तीन देशले क्यालिफोर्नियाबाट झण्डै ६७ अर्ब डलरको वस्तु निर्यात समेत खरिद गरेका थिए, जुन राज्यको कुल १८३ अर्ब डलरको निर्यातको झण्डै एक तिहाइ हो।

ट्यारिफकाे कानुनी वैधता माथि प्रश्न

संघीय अदालतमा दायर गरिएको मुद्दामा क्यालिफोर्नियाका अधिकारीहरूले ट्रम्प प्रशासनले ट्यारिफ लगाउन प्रयोग गरेको कानुन – International Emergency Economic Powers Act (IEEPA) – राष्ट्रपतिलाई एकल निर्णयमा ट्यारिफ लागू गर्ने अधिकार नदिने दाबी गरेका छन्। कानुनी रुपमा उक्त कानुन आपतकालीन अवस्थामा अन्तर्राष्ट्रिय आर्थिक नियन्त्रण गर्न प्रयोग हुने भए पनि, यसको दुरुपयोग गर्दै व्यापारिक ट्यारिफ लगाइएको आरोप लगाइएको छ।

स्थानीय सरकारको आवाज, जनताको पीडा

यो मुद्दालाई स्थानीय सरकारको प्रतिवादमात्र होइन, अमेरिकाका विभिन्न क्षेत्रका नागरिकहरूको असन्तुष्टिको प्रतिनिधि स्वरूप पनि हेरिएको छ। विश्लेषकहरू भन्छन्, “यस्ता ट्यारिफ नीतिहरूले केवल आर्थिक क्षति होइन, आम जनतामा अनिश्चितताको त्रास पनि फैलाएका छन्।”

स्थानीय विश्लेषकहरूका अनुसार, “यो मुद्दा केवल एउटा राज्यको विरोध होइन, तर लाखौं अमेरिकी नागरिकको आवाज हो, जो ट्यारिफको नाममा मूल्यवृद्धि, रोजगारी गुमाउने डर, र व्यापारमा अन्योलको मारमा परेका छन्।”


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट