Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

पूर्वप्रदेशप्रमुख राजेश झा अहिराज बलात्कार मुद्दामा फरार, काठमाडौं अदालतको पक्राउ पुर्जीपछि खोजी तीव्र


काठमाडौं — मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा ‘अहिराज’ बलात्कार मुद्दामा फरार भएका छन् । एक २५ वर्षीया महिलाले बलात्कारको आरोपसहित जाहेरी दिएपछि काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएसँगै अहिराज सम्पर्कविहीन भएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, महिलाले दिएको उजुरीका आधारमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी लिएको हो । “हामी घटनाको अनुसन्धान गर्दै छौं । आरोपीलाई खोज्दै छौं,” एसपी बोहराले बताए ।

जाहेरी अनुसार, पीडित महिलाले बलात्कारको गम्भीर आरोप लगाएकी छिन् । हाल प्रहरी अनुसन्धान जारी रहे पनि अहिराज फरार रहेकाले अनुसन्धानमा ढिलाइ भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वप्रदेशप्रमुख अहिराज २०७७ साल फागुन ७ गतेदेखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेशको प्रमुखको रूपमा कार्यरत थिए । उनी प्रम केपी ओली निकट रहेकाले उनले नै नियुक्ति गरेका थिए ।

पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कमा नआएको र खोजी कार्यलाई तीव्र बनाइएको प्रहरी स्रोतको भनाइ छ । पूर्व सञ्चारकर्मी अहिराजलाई राजनीतिक संरक्षण हुन्छ कि भन्ने आशंका छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट