प्रेस सेन्टरमा दुई महासचिव ? : नेतृत्व परिवर्तनपछि पनि सत्तासीनको जिद्दी

काठमाडौं । प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन भइसकेको एक महिना पुग्न लाग्दा पनि सत्तासीन व्यक्तिहरू सहजै संगठन नछाड्ने अडानमा देखिएका छन् ।
यस विषयमा संगठनका पूर्व कोषाध्यक्ष डिल्ली मल्लले व्यंग्यात्मक शैलीमा तर गम्भीर प्रश्न उठाएका छन् – “यो संगठनमा महासचिव कति जना छन् ?”
उनको यो प्रश्न महासचिवका नाममा दुई फरक व्यक्तिले हस्ताक्षर गरेको तथ्य सार्वजनिक गरेपछि हो । नेतृत्व परिवर्तन भइसकेको स्पष्ट सन्देश दिनुपर्ने बेलामा दुई जना महासचिव देखिनु संस्थाको आन्तरिक द्वन्द्व र नेतृत्व स्वार्थको प्रमाण जस्तै देखिएको छ ।
यसलाई लिएर कतिपयले ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान सम्झिएका छन् ।
निर्वाचनबाट महासचिवमा मनोज घर्ती चयन भइसकेका छन् ।
नेतृत्व परिवर्तनमा अवरोध
प्रेस सेन्टरका तत्कालीन अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ दोस्रो कार्यकालमा पनि टीका लगाएर आउने प्रयासमा थिए । त्यसका लागि उनले आफ्ना सहोदर काका तथा प्रेस सेन्टर इञ्चार्ज अग्नि सापकोटाको सहयोग लिएका थिए । यसका लागि अग्नि अध्यक्ष प्रचण्डकोमा धेरै धाएका थिए । आफू नभएपछि जुगलले आफ्नो पक्षलाई ल्याउन उपाध्यक्षका लागि निर्मल ज्ञवाली र सन्तोष पौडेललाई अघि सारेका थिए ।
तर, संगठनभित्र चुनाव हुने सम्भावना बलियो देखिएपछि उनीहरू प्रत्यक्ष प्रतिस्पर्धामा जान डराए । निर्वाचनमा हार निश्चित देखिएपछि जुगल, ज्ञवाली र पौडेलले उम्मेदवारी नदिई पछि हटेका थिए ।
तर, पछिल्लो तीन वर्ष सत्ता चलाएका यी पदाधिकारीले अहिले नेतृत्व हस्तान्तरणमा ढिलाइ गरिरहेका छन् ।
शपथग्रहणमा पनि ढिलाइ
चैत्र १६ र १७ गते सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भइसकेको भए पनि शपथ ग्रहण समारोह वैशाखको १३ मा सारिएको छ । नयाँ महासचिव चयन भइसके पनि निवर्तमान महासचिव सन्तोष पौडेलले अझै पनि महासचिवका हैसियतमा कामकाज गरिरहेको सार्वजनिक भएपछि संगठनभित्र अन्योल चुलिएको छ ।
यो अवस्थाले संगठनभित्र जिम्मेवारी हस्तान्तरणको प्रक्रियामा अपारदर्शिता देखिएको छ ।
नेतृत्व फेरिएपछि पनि पुरानै समूहले सत्ता नछाड्ने मनसाय राख्नु प्रेस सेन्टरजस्तो संस्थाको गरिमासँग मेल खान्न । निर्वाचित नेतृत्वलाई तुरुन्तै जिम्मेवारी सुम्पनु आवश्यक रहेको भन्दै धेरैतिरबाट दवाव परिरहेको छ ।
डिल्ली मल्लको प्रश्नले यिनै यथार्थलाई उजागर गरेको छ – ‘आखिर महासचिव कति जना ?’
क्याटेगोरी : समाचार
प्रतिक्रिया