बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरमा रहेको तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयवासीले भक्तपुरको कुमालेटोलमा रहेको तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजा गरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरू हुने गर्दछ ।
गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिङ्गो आज दिउँसो ढालिएको जानकारी दिँदै आजै अपराह्नदेखि पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरू हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिए ।
उनका अनुसार बिस्केट जात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा रहेको छ । तालाक्वोमा लिङ्गो ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ ।
यसअघि भेलुखेलमा रहेको ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिङ्गो वैशाख २ गते ढाल्ने परम्परा रहे पनि यस वर्ष चैत मसान्तको मध्यरातिसम्म पनि लिङ्गो नउठेपछि स्थानीयवासीले वैशाख १ गते नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा स्थानीयवासीको संयुक्त प्रयासमा लिङ्गो उठाएर साँझ ढालिएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया