नेपालको यू–१९ विश्वकप सपना अधुरो, अफगानिस्तान रनरेटका आधारमा छनोट

काठमाडौँ :आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको अन्तिम तथा निर्णायक खेल मौसमको कारण रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो।
शनिबार बिहान ९ बजे मूलपानीको तल्लो मैदानमा सुरु हुने तालिका रहेको खेल भारी वर्षाका कारण रद्द गरिएको हो। खेल रद्द भएपछि अंक बराबरी भए पनि रनरेटका आधारमा अफगानिस्तानले विश्वकपमा स्थान सुरक्षित गर्यो।
दुवै टोलीले यसअघि युएई, ओमन र हङकङविरुद्ध शानदार प्रदर्शन गर्दै तीनवटै खेलमा जित निकालेका थिए। आजको खेल निर्णायक मानिएको थियो, जहाँ विजेता टोलीले विश्वकपमा स्थान बनाउने थियो।
तर, मौसमले खेल्न नदिएपछि रनरेटले निर्णायक भूमिका खेलेको हो। अफगानिस्तानको नेट रनरेट नेपालभन्दा उच्च रहेकाले उनीहरू विश्वकपका लागि छनोट भएका हुन्।
नेपालका लागि यो ठूलो निराशा बनेको छ। किनभने टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल खेलसम्मको यात्रा तय गरेको थियो। अब नेपालले आगामी प्रतियोगितामा अझ मजबुत तयारीका साथ फर्किने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया