Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

रूसले गर्‍याे युद्धविराम: विश्वशान्तिप्रतिको कदम


काठमाडौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविराम घोषणा गरेका छन् । पुटिनका अनुसार इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्नेछ ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि सोहीअनुसार कदम चाल्ने अपेक्षा गरेका छन् ।

यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गर्‍यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिएका छन् ।

अनलाइनमा शेयर गरिएको भिडियोमा पुटिनले भनेका छन्, ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ ।’

रुसी रक्षा मन्त्रालयले एक बयान जारी गर्दै सैन्य अभियान रोक्ने बताइएको छ । विश्व युद्धविराम निर्णयबारे युक्रेनी पक्षको प्रतिक्रिया भने आइसकेको छैन ।

युक्रेन युद्धको निर्णायक मोडमा रूसले पहिलोपटक औपचारिक रूपमा युद्धविराम प्रस्ताव गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको घोषणामा युक्रेनसँग वार्ताका माध्यमबाट द्वन्द्वको समाधान खोज्ने इच्छा व्यक्त गरेपछि अन्तर्राष्ट्रिय समुदायमा फेरि एकपटक शान्तिको आशा पलाएको छ ।

पुटिनले युक्रेनले पूर्वी क्षेत्रका केही भूभागहरूमा रूसको नियन्त्रणलाई मान्यता दिनुपर्ने शर्तसहित युद्धविरामको प्रस्ताव गरेका हुन् । उनले सैन्य आक्रमण अन्त्य गर्न र वार्ताको बाटो समात्न आफूहरू तयार रहेको जनाए । यो घोषणालाई लिएर विश्व राजनीतिमा हलचल मच्चिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने उक्त प्रस्तावलाई शंकाको दृष्टिले हेरेका छन् । उनले रूसको आशयमा विश्वास गर्न सकिने अवस्था नरहेको जनाउँदै युद्धविराम स्वीकार गर्न अस्वीकार गरेका छन् । “कुनै पनि युद्धविरामले तब मात्रै अर्थ राख्छ जब कब्जा गरिएका भूभागहरू फिर्ता गरिन्छन्,” उनले कीएभबाट पत्रकार सम्मेलनमार्फत भने । उनकाे समयावधि सकिएकाले युद्धका आधारमा आफ्नाे शासनकाल लम्ब्याउन चाहन्छन् ।

युद्धविरामप्रतिको प्रतिक्रिया मिश्रित देखिएको छ । चीन, भारत, टर्की र ब्राजिलले यसलाई सकारात्मक संकेतका रूपमा स्वागत गरेका छन् भने अमेरिका, बेलायत र युरोपेली संघका नेताहरूले रूसप्रति गहिरो आशंका व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले तत्काल शान्तिको अवस्था निर्माण गर्न रूस र युक्रेन दुवैलाई वार्तामा आउन आग्रह गरेका छन् ।

नेपालमा पनि यो घटनाक्रमलाई चासोपूर्वक हेरिएको छ । परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया नदिए पनि नेपालभित्र राजनीतिक विश्लेषक र नेताहरूले विभिन्न कोणबाट मूल्याङ्कन गर्न थालेका छन् । माओवादी केन्द्रका युवा नेता जगत यादवले रूसको युद्धविराम प्रस्तावलाई “शान्तिप्रतिको ढोका खुल्ने संकेत” भनेका छन् । यादवले समयबद्धसँग भने, “नेपालजस्तो द्वन्द्वबाट गुज्रेको मुलुकलाई थाहा छ—संवाद र राजनीतिक समाधान नै महत्वपूर्ण विकल्प हो । युद्धविराम संवादका लागि थालनी होस् भन्ने हाम्रो कामना छ ।”

नेपाली बजारमा पनि यो युद्धको परोक्ष असर परेको छ । गहुँ र इन्धनको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय आपूर्तिमा देखिएको अवरोधकाे असरले विकासोन्मुख मुलुकहरू जस्तै नेपालमा आर्थिक दवाव बढाएको थियो । रूस–युक्रेनबीच शान्तिको सम्भावनाले बजार स्थिरता, तेल र खाद्यवस्तुको मूल्य घट्न सक्ने अपेक्षा गरिएको छ ।

युद्धविराम सफल भएमा अन्तर्राष्ट्रिय कूटनीतिको गतिशीलतामा नयाँ मोड आउनेछ । तर युक्रेनको अस्वीकारका कारण शान्तिको सम्भावना अझै अनिश्चित रहेको विज्ञहरू बताउँछन् ।

नेपालले विगतमा पनि यस्ता अन्तर्राष्ट्रिय द्वन्द्वप्रति शान्तिपूर्ण समाधानको पक्षमा आवाज उठाउँदै आएको छ । पछिल्ला घटनाक्रमहरूमा नेपालले आफ्नो तटस्थता कायम राख्दै संयुक्त राष्ट्रसंघको पहलमा भएका शान्ति प्रयासहरूलाई समर्थन गर्ने नीति अख्तियार गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट