Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

न्यायाधीश नियुक्तिमा जुटेन सहमति, सोमबार पुन: बैठक बस्ने


काठमाडौं । न्यायाधीश नियुक्तिमा सहमति नजुटेपछि न्याय परिषद् बैठक बिना निष्कर्ष टुंगिएको छ ।

आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी टुंगिएको हो ।

परिषदका एक सदस्यका अनुसार आइतबार न्यायाधीश नियुक्ति गर्नेगरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो । अर्को बैठक भोलि पुनस् बोलाइएको ती सदस्यले जानकारी दिए ।

यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति जुट्न नसकेपछि बैठक निर्णय नगरी टुंगिएको थियो ।

हाल देशभर जिल्ला, उच्च र सर्वोच्च गरी अदालतहरूमा ३३ न्यायाधीश रिक्त छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ २२ गते न्याय परिषद्को सदस्यमा संसदीय सुनुवाइबाट अनुमोदन भएका दामोदर खड्कालाई नियुक्त गरेसँगै न्याय परिषद्ले पूर्णता पाएको थियो ।

तर, पछिल्लोपटक बार र बेन्चबीच खटपट बढेसँगै न्यायाधीश नियुक्ति हुन सकेको थिएन । हालै बारमा विजय मिश्रसहितको नयाँ नेतृत्व बारमा आएको छ ।

बारमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशले सक्रियता बढाएका हुन् ।

हाल प्रधानन्याधीश राउत नेतृत्वको परिषद्मा सदस्यहरू वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरासिया र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र सदस्य सचिवका रुपमा यमबहादुर बुढामगर रहेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट