Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

ताप्लेजुङमा गाडीमा करेन्ट लागेर आगलागी: एकै परिवारका तीनसहित चार जनाको ज्यान गयो


ताप्लेजुङ, ८ वैशाख । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुई जना घाइतेको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसार मे १ च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।

त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य उनका १० वर्षीय छोरा भविमय आचार्य छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।


क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट