Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ, ९ वैशाख । बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध मङ्गलबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा यादव र अन्सारीले भ्रष्टाचार गरेको पाइएको अख्यिार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले यादव र अन्सारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (ङ) बमोजिमको कसुर भएकाले तीन लाख ५२ हजार ५६० रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको जानकारी दिए ।

नगरपालिकाबाट आव २०७७/७८ मा सञ्चालन भएका ठेक्काहरू (क्रमशः ठेक्का नं. ०२/२०७७/७८ र ठेक्का नं. ०३/२०७७/७८) को बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष कमलकुमार उपाध्याय समेतको मिलेमतोमा अभिलेखमा राख्ने प्रयोजनका लागि मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

झुट्टा विवरणसहितको पत्रिकाको आधारमा तीन लाख ५२ हजार ५६० केएस मल्टिपर्पोज प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रवक्ता पौडेलका अनुसार केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष उपाध्यायले ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन नगरी अभिलेखका लागि मात्रै प्रभाव दैनिकमा एक प्रति सूचना प्रकाशित गरी भुक्तानी लिएको पुष्टि भएको हुँदा उहाँलाई समेत सोही बिगो दाबीसहित आरोपपत्र दायर गरिएको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट