ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्।
दुई दिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । उनीहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नुका साथै वृक्षरोपण पनि गरे।
अवलोकनका क्रममा उनीहरूले आयोजनाको अहिलेसम्मको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए ।
सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाट क्षमताको छ । यो आयोजना विसं २०७५ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। १ खर्ब चार अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने यस आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले लिएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया