भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि, परिवारका अन्य सदस्य भने सकुशल

बुटवल, १० वैशाख । भारतको जम्मु–कश्मिर आतंकवादी हमलामा मारिएका नेपाली युवाको पुष्टि भएको छ। जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको हो।
बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले उक्त आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्। वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।
उक्त आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो ३ बजेतिर बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरैजना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर(ए(तैयबा समूहले लिएको छ।
पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरू रहेका छन्। मृत्यु हुने आन्तरिक पर्यटकहरू भारतको उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्। घटनामा दुई स्थानीयको पनि मृत्यु भएको बुझिएको छ।
आक्रमणको खबर पाउनेबित्तिकै साउदी अरेबियाको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदी आफ्नो भ्रमण बीचमै छोडेर भारत फर्कदैछन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक गर्नेछन्। नेपालसहित अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशहरूले उक्त आक्रमणको निन्दा गरेका छन्।
प्रधानमन्त्री ओलीद्वारा आतङ्कवादी हमलाको निन्दा
जम्मू कश्मीरमा आतङ्ककारी आक्रमण : एक नेपालीसहित २६ जनाको मृत्यु
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया