मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

विराटनगर, १० वैशाख । मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार उदयपुर बेलका नगरपालिका–४ की अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार, मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का हरि शर्मा घाइते भएका छन् ।
मृतकको शव शल्यपरीक्षणका लागि मदन भण्डारी ट्रमा सेन्टर, मंगलबारे लगिएको छ । प्रहरीले बसका चालक झापा कनकाई नगरपालिकाका सुमन चौधरीलाई नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया