Techie IT
Samayabaddha
शनिबार, १३ वैशाख, २०८२

सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी बलात्कार आरोपमा फरार


सिन्धुली, वैशाख १२। दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी दनुवार बलात्कारको गम्भीर आरोपमा परेपछि फरार भएका छन् । एक १८ वर्षीया किशोरीले जबरजस्ती करणी गरी आफूसँग शिशु जन्मिएको र सो बच्चा स्वीकार नगरेको आरोपसहित किटानी जाहेरी दिएपछि उनी सम्पर्कविहीन भएका हुन् ।

 उजुरीअनुसार,  दुधौली नगरपालिका वडा नम्बर ८ निवासी भुजेल थरकी यी पीडित महिला नगरप्रमुखकाे घर नजिकैकाे वेलकम होटलमा काम गर्थिन् । सोही क्रममा नगरप्रमुख दनुवारले बलात्कार गरेका थिए । सोही होटलमा नगरको सम्पूर्ण खानपानको व्यवस्थपन र बिलको कारोबार हुने गरिएको पनि एक स्थानीयले जानकारी दिएका छन् । प्रहरीमा दिएकाे उजुरी अनुसार, बलात्कारको कारण उनले गत फागुनमा एक बालक शिशु जन्माएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोबिन्दराज काफ्लेले पीडितको उजुरी दर्ता भएपछि मेडिकल परीक्षण, डीएनए जाँच लगायतका अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । “पीडितको स्वास्थ्य तथा सुरक्षालाई पहिलो प्राथमिकता दिइएको छ,” उनले भने ।

जाहेरी दिन लागेको खबर पाइसकेपछि मेयर दनुवार बुधवार काठमाडौं गएका थिए । उनी राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग भेट गर्न गएका थिए भन्ने बुझिएको छ । उनका स्वकीय सचिव युवराज दनुवारले यसलाई पुष्टि हुने गरी आफ्नाे फेसबुकमा नारायण दाहालसँग खिचेकाे फाेटाे पाेष्ट गरेका छन् । नारायण दाहाललाई बुधबार अपरान्ह  भेटपछि उनी सिन्धुली फर्किएका छैनन् र उनका मोबाइल फोनहरू स्विच अफ अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

दिनेश अधिकारी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा निर्वाचित भएका थिए । तर, पार्टीभित्र पनि उनको उम्मेदवारी विवादास्पद रहेको खुलासा भएको छ । स्रोतका अनुसार, जिल्ला सचिव विनोद विक, प्रदेश सभा सदस्य मात्रिका भट्टराई वा महिला नेतृ इन्दिरा काफ्लेमध्ये कसैलाई मेयरको उम्मेदवार बनाउने तयारीमा रहेका बेला राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको हस्तक्षेपमा दिनेश अधिकारी उम्मेदवार बनेका थिए ।

उनी आर्थिक अनियमितता तथा स्रोत साधनको दुरुपयोग गर्दै समानान्तर कमिटी चलाउने आरोपमा पनि विगतदेखि नै आलोचनाको घेरामा रहेका छन् । हालको बलात्कार प्रकरणले उनको भूमिकामाथि थप प्रश्न उठेको छ ।

प्रहरीले उनी विरुद्ध लुकिछिपी बसेको आशंकामा खोजी कार्यलाई तीव्र पारेको जनाएको छ ।

याे पनि पढ्नुहाेस, दुधौलीमा अबैद्य क्रसर सञ्चालन, स्थानीय सरकार बन्यो संरक्षक !


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट