भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट करिब चार करोडको क्षति, दुई दिनका लागि ओपीडी बन्द

नेपालगन्ज, १४ वैशाख । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट ओपीडी भवन र ल्याबमा प्रयोग हुने विभिन्न केमिकल लगायतमा ठुलो क्षति भएपछि दुई दिनका लागि ओपीडी र ल्याब सेवा बन्द गरिएको छ ।
शनिवार अस्पतालमा भएको आगलागीले ओपीडी भवनमा नोक्सानी पुर्याएपछि आइतवार र सोमवारका लागि ओपीडी सेवा र अस्पतालको ल्याब सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले बताए । उनले अस्पताल भवनमा रहेको मेडिकल स्टोरमा भएको आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी, ओपीडी भवन लगायतका ठाउँमा क्षति हुँदा करिब चार करोडको क्षति भएको जनाउँदै सोही कारणले तत्कालका लागि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सुचारु गर्न नसकिने हुँदा वैशाख १४ र १५ गते ओपीडी तथा ल्याब बन्द रहने बताए ।
अस्पताल प्रशासनले आइतवार र सोमवार ओपीडी सेवा तथा ल्याब सेवा बन्द रहने सूचना सार्वजनिक गरेपनि आइतवार भेरी अस्पतालमा चेकजाँचका लागि धेरै जना बिरामी पुगेका थिए । उनीहरुले आफूहरुले ओपीडी बन्द हुने जानकारी नपाएर अस्पतालमा पुगेको जनाउँदै समस्या भएको गुनासो गरेका थिए ।
आइतवार विहान अस्पतालको ओपीडी नजिकै भेटिएका बर्दिया मधुवनका जयराम चौधरीले अस्पतालमा आगलागी भएको कुरा सुनेपनि ओपीडी बन्द रहनेबारे आफूले थाहा नपाएर आएको र अहिले समस्यामा परेको बताए । चौधरी जस्ता धेरै बिरामी अस्पताल परीसरमा भेटिएका थिए ।
उता, भेरी अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहले आगलागीका कारण ओपीडी र ल्याब सेवा बन्द गर्नुपर्ने बाध्यताका कारण बन्द गर्नु परेको जनाउँदै गम्भीर समस्या भएका बिरामीलाई इमरजेन्सीमा चेकजाँचको व्यवस्था मिलाइएको बताए । उनले दुई दिनका लागि इमरजेन्सीमा स्वास्थ्यकर्मीको संख्या थप गरेर चेकजाँचको व्यवस्था मिलाउने बारे छलफल भइरहेको बताए ।
यस्तै, भेरी अस्पतालमा भएको आगलागीको कारण र क्षतिको यकिन विवरण संकलन गरेर प्रतिवेदन प्रस्तुत गर्न अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ। सो जानकारी गराउँदै अस्पताल विकास समितिका अध्यक्ष शाहले समितिमा अस्पताल विकास समितिका सदस्य समिर गुरुंग तथा कर्मचारीहरु बुद्धी बहादुर थापा, उदयविर शाही र मदन विक सदस्य रहेको बताए ।
समितिले छानविन सुरु गरेको जनाउँदै छानविन सििमतका संयोजक डा. धितालले दुई तीन दिनभित्र सम्पूर्ण छानविन गरेर प्रतिवेदन बुझाउने गरि काम सुरु गरिएको बताए । अस्पतालको मेडिकल स्टोरमा रहेको भ्याक्सिन राख्ने फ्रीजमा सर्ट सर्किट भएर शनिवार विहान १० बजे आगलागि हुँदा करिब चार करोडको क्षति भएको अनुमान गरिएको अस्पतालले जनाएको थियो ।
क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य
प्रतिक्रिया