कसमस इन्जिनियरिङ कलेजमा अखिल क्रान्तिकारी अध्यक्ष विजय सापकोटाद्वारा समानान्तर गतिविधिको प्रयास

संगठनभित्र असन्तोष
काठमाडौं, वैशाख १४ –पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सातदोबाटोस्थित कसमस इन्जिनियरीङ कलेजमा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष विजय सापकोटाले समानान्तर गतिविधि गर्ने प्रयास गरेको आरोप लागेको छ।
कसमस क्याम्पसमा वैधानिक र क्रियाशील इकाइ समिति सक्रिय रहँदै आएको अवस्थामा कुनै समन्वय नगरी अध्यक्ष सापकोटाले स्वागत कार्यक्रम र खेलकुद सप्ताहका लागि छुट्टै प्रतिनिधि तोक्दै पत्र काटेका छन्। यसरी समानान्तर गतिविधि गर्न खोजिएको भन्दै संगठनभित्रै असन्तोष चुलिएको छ।
यसअघि पनि सापकोटाले पुतलीसडकस्थित पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेजमा आफ्नो उपस्थितिमा समानान्तर गतिविधि सञ्चालन गर्न खोजेको घटना सार्वजनिक भइसकेको छ।
अखिल क्रान्तिकारीकोे अध्यक्षको अगुवाइमा समानान्तर समिति
कसमस क्याम्पसका एक विद्यार्थी नेताले भने, “केन्द्रीय तहबाट बिना छलफल अवैधानिक र अराजक गतिविधि गर्न खोजिएको छ। यस्तो गतिविधि आर्थिक लाभ वा चन्दा संकलनको उद्देश्यसहित गरिएको हुन सक्छ।”
अखिल क्रान्तिकारीको पछिल्लो सम्मेलनका क्रममा समेत समानान्तर प्रवृत्तिको विवाद उठेको थियो। सम्मेलनका बेला माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्षद्वय हिमाल शर्मा र पञ्चा सिंहले वर्तमान अध्यक्ष विजय सापकोटालाई अगाडि सारेर समानान्तर गतिविधि गराउने प्रयास गरेको आरोप लागेको छ।
यी गतिविधिहरूले संगठनको एकता र अनुशासनमा गम्भीर प्रश्न उठाएको भन्दै विद्यार्थी नेताहरुले आन्तरिक समीक्षा र अनुशासन प्रक्रिया अघि बढाउन माग गरेका छन्। संगठनभित्र बढ्दो अन्यौलता र गुटगत प्रतिस्पर्धाले निकट भविष्यमा थप विवाद सिर्जना हुन सक्ने अनुमान गरिएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया