Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भिड


मुक्तिनाथ (मुस्ताङ), १५ वैशाख । मुस्ताङको थासाङ गाउँपालिका–२, घट्टेखोलामा आयोजना भइरहेको मेलामा थामिनसक्नु भिड लागेपछि मेला अवधि थपिएको छ । वैशाख ६ देखि सुरु भएको मेला आगामी १७ गतेसम्म सञ्चालन गरिने भएको छ ।

मेलामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ, चितवन, बुटवलसहित भारतीय सीमा क्षेत्रका जिल्लाबाट दैनिक सर्वसाधारणको भिड लागेपछि मेला अवधि लम्बाइएको मेला संयोजक बुद्धिरत्न तुलाचनले बताए । संयोजक तुलाचनले भने, “हामीले सोचेभन्दा धेरै व्यक्ति आउनुभयो, मेलाबाट स्थानीय कृषक निकै उत्साहित हुनुहुन्छ ।” यस पटक वैशाख १५ सम्म सञ्चालन गर्ने गरी तय गरिएको मेलालाई दुई दिन थप गरेसँगै चरन क्षेत्रमा थप चौँरी तथा याकलाई समेत मेलामा ल्याइएको संयोजक तुलाचनको भनाइ छ । मेलामा हालसम्म चार हजारभन्दा बढीले चौँरीको आलो रगत पिएका छन् । एक जना बिरामीले एक देखि १० गिलाससम्म चौँरीको आलो रगत पिउने गरेका छन् ।

हालसम्म ३० लाख रुपियाँभन्दा बढीको आलो रगत, याकको मासुसहित अन्य दुग्धजन्य पदार्थ बिक्री गरी एक करोड रुपियाँभन्दा बढीको आम्दानी गरिसकेको आयोजकले जनाएको छ । मेलाको अवलोकन गर्न करिब आठ हजारभन्दा बढी पर्यटकसमेत पुगेका छन् । चौँरीको आलो रगतसँगै पर्यटकले घिउ, छुर्पी, सजावटका लागि याकको सिङ, पुच्छर, पित्तसमेत बिक्री भएको छ । आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएका सर्वसाधारणको रोजाइमा परेको चौँरीको आलो रगत पिउने मेलामा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म पुग्ने गरेका छन् । थासाङ गाउँपालिकाको चरन क्षेत्रमा २५ गोठमा करिब एक हजार पाँच सयको हाराहारीमा रहेका चौँरी तथा याकमध्ये मेलामा पाँच सय जति ल्याइएको छ ।

समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइको हिमाली खर्कमा चरेका चौँरीले पाँचऔँले, नीरमसी, जटामसी, यार्चागुम्बा जस्ता जडीबुटी खाने भएकाले रगत सेवनले गानोगोला, तुस, अपच, हाडजोर्नी, नसासम्बन्धी रोग, यौन उत्तेजना आदि समस्या कम हुने जनविश्वास रहेको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट