Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

नेपालगन्जका विभिन्न स्थानमा पेस्तोलबाट गोली चलाएर आतङ्क मच्चाउने चार जना पक्राउ


नेपालगन्ज, १५ वैशाख । सार्वजनिक स्थलमा गोली पड्काउने चार जना युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपालगन्जका विभिन्न स्थानमा खुल्लमखुल्ला पेस्तोलबाट गोली चलाएर आतङ्क मच्चाउने चार जनालाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार पक्राउ पर्नेहरूमा नेपालगन्ज एकका ४० वर्षीय विश्व विजय पोख्रेल, नेपालगन्ज १८ का ३० वर्षीय विशाल आउजी, नेपालगन्ज चारका २१ वर्षीय अस्मित मल्ल र २० वर्षीय सौगात श्रेष्ठ छन् ।

उनीहरूले गत शुक्रवार नेपालगन्ज १२ मा रहेको नमस्ते दोहरीबाट बाहिर निस्की साथमा बोकेको पेस्तोलबाट गोली पड्काई बा ४ च ३०७१ नम्बर को कारमा चढेर नेपालगन्ज १८ विशालनगर चोकमा भइरहेको नाइट क्रिकेट प्रतियोगितामा पुगी खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरूलाई आतङ्कित बनाउनुका साथै पेस्तोलबाट पुनः गोली पड्काई भागेको प्रहरी प्रवक्ता डिएसपी पातलीले बताए ।

उनले घटना भए लगत्तै पिछा गर्दै गएको प्रहरी टोलीले कोहलपुर १० हाई स्कुलबाट ती चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडी बढाइएको बताए ।

यसैबिच प्रहरीले ठुलो मात्रामा लागु औषध ब्राउन सुगरसहित एक महिलालाई यहाँस्थित नेपाल भारत नाकाबाट पक्राउ गरेको जनाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ कि ३४ बर्सिया पुष्पा लोनियालाई प्रहरीले १९ ग्राम २ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको डिएसपी पातलीले बताए ।

उनले पुष्पालाई शङ्का लागेर जाँच गर्दा उनले बोकेको झोलामा ब्राउन सुगर फेला परेकोले उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।

प्रहरीका अनुसार लागु औषधका कारोबारीले महिलालाई भरिया बनाउने गरेको पाइएको छ । पक्राउ परेकी पुष्पाको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट