रचनात्मक रूपमा प्रदर्शन गर्दै आएका शिक्षक नाराजुलुससहित सडकमा

काठमाडौं, १५ वैशाख । शिक्षकको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी छ । सोमबार शिक्षक नाराजुलुससहित सडकमा उत्रिएका छन् । झडपक्रममा चोट लागेका शिक्षक पनि ब्यान्डेज बाँधेर प्रदर्शनमा सहभागी छन् ।
उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षकलाई सम्मान गर’, ‘शिक्षक कर्मचारी एक हौँ’, ‘शैक्षिक दलाल होसियार’ लगायत नारा लगाएका छन् । यस दिन शिक्षकले सरकारको चर्को विरोध गरेका छन् । उनीहरूले यसअघि रचनात्मक रूपमा प्रदर्शन गर्दै आएका थिए ।
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।
प्रदर्शनक्रममा आइतबार शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गर्दा केही शिक्षक घाइतेसमेत भएका थिए ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया