Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

बिआरआई योजनामा हस्ताक्षर गर्न नेपाल प्रतीक्षारत छ : परराष्ट्रमन्त्री


उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा पुगेको उल्लेख गर्दै त्यसमा हस्ताक्षरका लागि नेपाल तयार रहेको बताएका छन् । नेपाल–चीन सम्बन्धको पुनरावलोकनका विषयमा नेपाल–चीन फ्रेन्डसिप फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा उनले हस्ताक्षरका लागि उपयुक्त मितिको पर्खाइमा नेपाल रहेको खुलासा गरेका छन् ।

नेपाल र चीनबीच १२ मे २०१७ मा बिआरआईको ढाँचामा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर नभएका कारण नेपालमा चीनले नयाँ परियोजनामा सहकार्य गर्ने वातावरण थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजको चीन भ्रमण र उपप्रधानमन्त्री श्रेष्ठको पछिल्लो चीन भ्रमणमा पनि बिआरआई कार्यान्वयन योजनाबारे छलफल भएको थियो ।

‘बिआरआई कार्यान्वयन योजना करिबकरिब अन्तिम चरणमा पुगेको छ । नेपाल यसका विषयमा चीनसँग हस्ताक्ष गर्न तयार छ,’ श्रेष्ठले भने, ‘यसका लागि उपयुक्त मितिको प्रतीक्षामा छौँ ।’ स्रोतका आगामी पुसभित्र चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको सम्भावना छ । त्यही अवसरमा बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्नेबारे दुवै देशबीच छलफल भइरहेको छ ।

‘एउटा विशेष अवसरमा यससम्बन्धी हस्ताक्षर गरौँ भन्नेबारे चीनसँग कुराकानी भइरहेको छ, तर टुंगिएको छैन,’ परराष्ट्र स्रोतले भन्यो । उपप्रधानमन्त्री श्रेष्ठले चीनको विकासबाट नेपाल गर्व गर्ने अवस्थामा रहेको र त्यसबाट फाइदा लिन इच्छुक रहेको पनि बतए । नेपालले चाँडै चिनियाँ ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स देशहरूको समूहमा सामेल हुने पनि श्रेष्ठले बताए ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको सुनाउँदै नेपालसँग चीनको सम्बन्ध समीक्षा हुनुपर्ने बताए । ‘यस वर्ष जनगणतन्त्र चीन स्थापना भएको ७५औँ वर्ष हो । अर्को वर्ष नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ हो,’ सोङले भने, ‘यसकारण दुई देशको समग्र सम्बन्ध समीक्षा गर्ने यो उपयुक्त समय हो भन्ने मलाई लाग्छ ।’ उनले यस वर्ष नेपालीलाई मेनल्यान्ड चीन जाँदा भिसा शुल्क निःशुल्क गरेको उल्लेख गर्दै अब १४ वटा परम्परागत नाक पुनः सुचारु हुने जानकारी दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट