Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

बालुवाटार बैठकपछि एमालेको चेतावनी– कांग्रेसले लिखित माफी नमागे सम्बन्ध राम्रो हुँदैन


सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएका आरोपबारे लिखित क्षमा र सार्वजनिक माफी माग्नुपर्ने बताएको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि एमालेले ती आरोपबारे कांग्रेसले माफी नमागे सम्बन्ध राम्रो नहुने चेतावनी दिएको छ।

‘कांग्रेसले जेजस्ता आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपकाप्रति लिखित रुपमा क्षमा र सार्वजनिक रुपमा माफी माग्नुपर्छ। अन्यथा, नेपाली कांग्रेससँगको सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन। नेकपा एमाले यस्ता अरोप सुनेर बसिरहन सक्दैन,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भने।

पछिल्ला दिनमा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कांग्रेसले गिरिबन्धु टी,स्टेटसँग जोडेर विभिन्न प्रतिक्रिया दिँदै आएको छ।

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका घटनाक्रम र अभिव्यक्तिले संकेत गरिरहेका छन्। विशेषगरी असान्दर्भिक, अनुचित, आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै राष्ट्रिय राजनीतिलाई बिथोल्ने काममा लागेको छ,’ उनले भने।

साथै, उनले प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना कांग्रेसले घोषणा गरिरहेको बताए।

‘पछिल्ला दिनमा नेकपा एमाले र विशेषगरी पार्टी अध्यक्षविरुद्ध प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना घोषणा गरिरहेका छन्। सबैभन्दा पहिला कांग्रेसलाई यस्ता लान्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु,’ उनले भने।

यदि नेपाली कांग्रेस यस्ता अभिव्यक्तिबाट पछि हट्दैन भने नेकपा एमाले त्यस्ता अभिव्यक्तिविरुद्ध प्रतिवादमा उत्रने उनले चेतावनी दिए।

उनले संसद् खोल्ने कुरामा सहमतिमा नगई राजनीतिक परिस्थिति बिथोल्नेगरी कांग्रेस लागेको आरोप लगाए।

‘जहाँसम्म उठेको विषय छ, त्यस विषयमा सवांदका माध्यमबाट सहमतिमा पुगौँ भन्ने हाम्रो कोसिस छ। कांग्रेस त्यो कोसिस बिथोल्ने काममा उद्दत भइरहेको छ। अहिलेसम्म हामी कुनै निष्कर्षमा पुग्न सकेका छैनौँ,’ उनले भने।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट