Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

मधेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी


मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् ।

जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा रहेकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश सुमित्रा भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउने ती दलहरुले तयारी गरेका हुन् ।

गत जेठ १७ गते एमाले, नेकपा माओवादी केन्द्र र जनमतले नयाँ सरकार बनाउने सहमति गरेको थियो । एकीकृत समाजवादीसमेत सकारात्मक भएपछि नयाँ सरकार गठनको लागि अघि बढेको एक सांसदले बताए । त्यसमा लोसपा र अन्य १–१ सिटको दलहरुसहितको बहुमत पेश गर्ने तयारी भएको स्रोतको दाबी छ ।

यद्यपि लोसपा अहिलेसम्म अलमलमै छ । लोसपा नमिलेपनि एकीकृत समाजवादीको सहभागिताले सरकार बन्ने निश्चितजस्तै छ ।

१०७ सदस्य मधेश प्रदेश सभामा सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट भएको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीमध्ये एउटालाई मात्र जोडेपनि सरकारको लागि आवश्क पर्ने बहुमत संख्या ५४ पुग्छ ।

लोसपाका संसदीय दलका नेता अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएर निलम्बित छन् ।

यस्तो अवस्थामा १०६ प्रदेश सांसदमा एमालेकै सभामुख रहेकाले अन्तिम अवस्थामा उनको मत पनि निर्णायक हुने देखिन्छ ।

३० वैशाखमा नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । २१ जेठदेखि संसदको अधिवेशन आह्वान गरिएको छ र २३ जेठमा उनले विश्वासको मत लिने तयारी गरेका छन् ।

बहुमतसहित ध्यानाकर्षण पत्र बुझाए मुख्यमन्त्री यादव विश्वासको मत नलिँदै नैतिकताको आधारमा राजिनामा दिन दबाब पुग्ने उनीहरुको दाबी छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट