राष्ट्रिय सहमति कायम गर्दै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक
अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गर्ने देउवाको विश्वास, विश्वकै लागि अनुकरणीयः प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्रीले ओलीले नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानिबनसम्बन्धी कानुनलाई लिएको बताएका छन् । उनले राजनीतिक कार्यदल र संसदको सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेकोले खुुसी व्यक्त गरे । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यो सफलता दुनियाँका लागि उपयोगी हुन सक्ने दावि समेत गरे ।
अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गर्ने देउवाको विश्वास,
बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै सभापति देउवाले विधेयकमा भएको राष्ट्रिय सहमतिले संक्रमणकालीन न्यायको जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सिद्ध भएको उल्लेख गरेका छन् ।
शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न नसक्दा अन्यौलता एवं पीडितको न्याय पाउने अधिकार कुण्ठित भएको थियो । उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफैँ सम्पन्न गर्न सक्षम छन् उदाहरण आज एकपटक प्रमाणित गरेका छन् ।
संसदमा सभापति देउवाले ‘संसदमा प्रस्तुत विधेयकले संक्रमणकालिन न्यायका सबै आधारभुत मान्यता बोकेको छ । सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने, द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको छ । यो विधेयक संक्रमणकालिन न्यायको मान्यतामा आधारित हाम्रो प्रचलित कानून, सर्वाेच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल रहेको’ बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभुति र परिपूरण ल्याउने व्यवस्था गरेको भन्दै विश्व समुदायले प्रसंशा गर्ने पनि विश्वास लिएका छन् ।
विश्वकै लागि अनुकरणीयः प्रचण्ड
नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । अध्यक्ष प्रचण्डले संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका कि सम्पूर्ण रूपले जितमा परिणत भएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको दाहालले बताएका छन् ।
शान्ति प्रक्रिया थालनीका मूलभूत दुई पक्ष सफल भएको पनि दाहालको भनाइ थियो । राजनीतिक रूपमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको छ भने संविधानसभाबाट नयाँ संविधान बनि नयाँ संविधानमा राजनीतिक उपलब्धिहरू संस्थागत पनि भएका छ’ उनले भने ।
दाहालले नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले भएको स्मरण गरे । दाहालले सेना समायोजन र हतियार व्यवस्थापन जटिल विषय भएपनि सहजै सम्पन्न भएको बताए । उनले राजनीतिक नेतृत्वले जोखिम उठाएर सेना समायोजन गरिएको बताए । सेना समायोजन गर्दा माओवादी पार्टी विभाजन भएर आफूलाई क्षति भएपनि देश बाचेको र शान्ति स्थापना भएको अध्यक्ष दाहालले बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले स्व. गिरिजा प्रसाद कोइरालाले आफ्नो अन्तिम समयमा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आग्रह गरेको स्मरण गरे ।
संसद्मा ल्याइएको विधेयक पीडितका पक्षमा रहेको दाहालले बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया