टुँडीखेलमा ओली र देउवा विरुद्ध युवाहरुको नाराबाजी ! नाराबाजी गर्ने समूहको पहिचानको खोजी
काठमाडौं । भदौ १० गते सोमबार काठमाडौंको टुँडीखेलमा गौरा पर्वको शुभकामना दिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध युवाहरुले नाराबाजी गरेका छन् ।
ठूला भनिएका दलका नेताहरुको कार्यशैलीप्रति जनताको आक्रोसको अभिव्यक्ति चुलिएको अर्थमा हिजोको विरोध र नाराबाजीलाई लिइएको छ ।
नाराबाजी गर्ने युवाहरुलाई प्रमुख अतिथि बनेर गएका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र शेर बहादुर देउवाले युवाहरुको विरोधलाई मनन गर्नुको साटो तथानाम गाली गर्दै उनीहरुमाथि खनिएर भाषण गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा पुगेलगत्तै जनताहरुले नाराबाजी गरेका थिए । क्रमशः पर्यटन मन्त्री बद्री पाण्डे, वनमन्त्री ऐन बहादुर शाही, एमाले नेता भीम रावलले मन्तव्य राखिरहेका बेला उनीहरुले चर्काे नाराबाजी गरिरहेका थिए । तर जनताको भावना बुझ्नुको साटो नेताहरु एकोहोरो भाषणमै लागे ।
त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्तव्य दिन पुगेका थिए । उनले सुरुमै नाराबाजी गर्नेहरुलाई ‘बदमास’हरु भनेर गाली गर्न थाले ।
‘कार्यक्रम बिथोल्न लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? सभापति देउवाले भने । उनले नाराबाजीकै बीचमा शुभकामना मन्तव्य दिन भ्याए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । ओलीले नेपाली पन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको बताए ।
प्रधानमन्त्री ओलीले बोलिरहँदा टुँडिखेलमा जम्मा भएका यु्वाहरुको समूहले नेताहरु विरुद्ध नाराबाजी गरिरहेको थियो ।
विषेश गरी गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँगै सुदुरपश्चिमका नेताहरु सहभागि थिए । सुदूरपश्चिमको पहिचान बोकेको गौरा पर्वमा एकआपसमा सदभाव बाँड्ने गरिन्छ ।
सुदूरपश्चिमका ९ जिल्लामा मनाइने उक्त पर्व पछिल्लो केही वर्षयता काठमाडौमा समेत मनाउन थालिएको छ ।
नाराबाजी गर्ने समूहको पहिचानको खोजी
नाराबाजी गर्ने समूह राजनीतिक थिए भन्ने प्रष्ट छ । तर उनीहरु कहाँबाट परिचालित युवा हुन भन्ने बारे विभिन्न अड्कलबाजी चलिरहेको छ ।
कसैले काठमाडौंका मेयर बालेन्द्र साहका समर्थक हुन भनिरहेका छन् । प्रधानमन्त्री ओली र काठमाडौं महानगरका मेयर बालेन साहबीचको सम्बन्ध पछिल्लो समयमा प्रतिशोधपूर्ण बन्दै गएको छ । ओली कार्यक्रमस्थलमा पुग्नासाथ नाराबाजी हुनुले यो शंका गर्नेहरुलाई पनि बलियो ठाउँ दिएको छ ।
अर्काेतिर, भ्रष्टाचार विरुद्ध जेहाद छेडिरहेको अघिल्लो सरकारलाई हटाएर एमाले र कांग्रेसबीचको गठबन्धन बनेपछि युवाहरु आक्रोसित भएको भनिएको छ । अघिल्लो सरकारले अगाडि बढाएका सबै भ्रष्टाचारका मुद्दाहरु यो सरकारले थामथुप पारेको छ । कतै बेचन झाको पक्राउ पछि माथिल्लो राजनीतिक नेतृत्वलाई जोगाउन यो गठबन्धन भनेको त होइन भन्ने जनताको आक्रोस प्रतिविम्वको रुपमा देखिएको त होइन भन्ने शंका पनि भइरहेको छ ।
नेपालमा यो वा त्यो रुपमा जनताको आक्रोस सतहमा आउने पक्का देखिन्छ । श्रीलंका तथा बंगलादेशको हावा नेपालमा प्रवेश गर्ने धेरैले अनुमान गरिरहेका छन् । त्यसैको छिट्टा देखिएको त होइन भन्ने आशंका पनि यतिबेला भइरहेको छ ।
तर प्रहरी उच्च श्रोतका अनुसार कार्यक्रममा नारबाजी गर्नेहरु एमाले कार्यकर्ता नै भएको बताइएको छ ।
एमाले सुदूरपश्चिमभित्र भुसको आगो झैं फैलिँदै गएको ओलीप्रतिको आक्रोश टुँडिखेलमा विस्फोट भएको भन्ने छ । ओलीले कर्ण थापालाई पाखा लगाएर उद्योगमन्त्री समेत रहेका दामोदर भण्डारीलाई काखी च्यापेपछि ठूलो समूह ओलीको खिलाफमा भएको र नाराबाजी गर्ने तिनै समूह भएको भन्ने प्रहरी स्रोतको दावि छ ।
एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावल पनि कार्यक्रममा सहभागी थिए । उनैका समर्थकले ओली विरुद्ध नाराबाजी गरे कि भन्ने पनि आशंका प्रहरीले गरेको छ । तर यो त्यति बलियो आधार होइन ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया