सहकारी छानविन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुने उपप्रधानमन्त्री सिंहको दावि
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानविन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने दावि गरेका छन् ।
गणेशमान सिंहको २७ औं पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले बुधबार काठमाडौंमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसदले सरकारलाई निर्देश गरिसकेकाले सरकारले कार्यान्वयन गर्ने बताएका हुन् ।
उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषद्बाट कार्यान्वयनका लागि अघि बढ्ने दाबी गरे । सिंहले नेपालको परिवर्तन र जनताको अधिकार स्थापीत गर्न स्वर्गीय गणेशमान सिंहले खेलेको भूमिकाको स्मरण गरे ।
सो अवसरमा सिंहले गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गरेका थिए । गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
जनआन्दोलन पश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए । नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया