माओवादीले कीर्तिपुरको मेयरमा शिवशरण महर्जनलाई उठाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
सोमबार बसेको माओवादी केन्द्र कीर्तिपुर नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । पार्टी उपाध्यक्ष, प्रवक्ता एवं बागमती प्रदेश इन्चार्ज अग्नि सापकोटाको प्रमुख आतिथ्यमा बसेको बैठकले चुनावमा पार्टीका सबै जनशक्ति परिचालन हुन आह्वान गरेको छ ।
मेयरको उम्मेदवारमा सिफारिस महर्जन त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षाशास्त्र विभागका पूर्वप्रमुख हुन् । त्यस्तै उनले विश्वविद्यालय अनुदान आयोगको सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
सत्तारुढ दल नेकपा एमालेले भने कीर्तिपुरका लागि यसअघि नै डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार तोकिसकेको छ । कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ ।
कीर्तिपुर नगरपालिका भित्र मात्रै मेयर राजकुमार नकर्मी, वडा नम्बर १ मा अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का श्यामकुमार अधिकारीको निधन भएको छ । अहिले उक्त स्थान लगायत देशैभरिका रिक्त स्थानीय तहमा मंसिर १६ गते निर्वाचन हुँदैछ ।
अहिले देशैभरि जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिटमा उपनिर्वाचन हुँदैछ ।
त्यस्तै माओवादीले वडा नम्बर १ को अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षमा नारायण विष्टलाई सिफारिस गरेको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया