Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

आन्तरिक द्वन्द्व र वाह्य चुनौतीबीच रास्वपा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आन्तरिक संघर्ष र बाह्य चुनौतीको दोहोरो प्रहारमा छ । सभापति रवि लामिछानेमाथि लागेको ठगी र सम्पत्ति शुद्धीकरणको आरोपले पार्टीभित्र नेतृत्वप्रति असन्तोष बढाएको छ । पार्टीका समर्थकहरू लामिछानेको पक्षमा उभिए पनि केही नेताहरूले नेतृत्व परिवर्तन र सुधारको माग गरिरहेका छन् ।

जनताले ‘नयाँ नेपाल’ निर्माणको वाचा पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आन्तरिक द्वन्द्व र बाह्य दबाबबीच पार्टीले एकता कायम गरी विश्वास पुनःस्थापित गर्न नसके यसको अस्तित्व संकटमा पर्न सक्छ । रास्वपाको वर्तमान अवस्थाले यसको भविष्य अनिश्चित बनाएको छ ।

सम्पत्ति शुद्धीकरण र सहकारी ठगी प्रकरण

रवि लामिछानेमाथि लागेको सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दाले केवल कानुनी चुनौती मात्र प्रस्तुत गरेको छैन, यसले उनलाई नैतिकताको पनि प्रश्न उठाएको छ । प्रहरी अनुसन्धानका क्रममा लामिछानेमाथि सहकारीको रकम ठगी, गैरकानुनी लाभ आर्जन र ती रकमलाई वैध बनाउने प्रयास गरेको आरोप लगाइएको छ । यी आरोप प्रमाणित भएमा उनीमाथि कानुनी सजायको सम्भावना उच्च छ ।

प्रभावित जनताको अविश्वास

सहकारी मार्फत ठगी गरिएको भन्ने आरोपले लाखौं जनताको रवि लामिछानेप्रतिको विश्वासमा धक्का दिएको छ । ‘नयाँ नेपाल’ को आशा र ‘राजनीतिक सुधार’ को वाचा गरेर आएको पार्टी अब प्रश्नको घेरामा परेको छ ।

रास्वपाको आन्तरिक द्वन्द्व

रवि लामिछानेमाथिको कानुनी संकटसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको छ । यसले दुई धारको उदय भएको छ । रविका समर्थकहरू पार्टीको नेतृत्व बचाउनका लागि आन्दोलनरत छन् । उनीहरूले रवि लामिछानेलाई निर्दोष साबित गर्नुपर्ने दाबी गरेका छन् । तर, अर्को धारले पार्टीलाई नयाँ नेतृत्वको आवश्यकता भएको तर्क गर्दै स्थायित्व कायम गर्न रविको छायाबाट बाहिर आउनुपर्ने आवाज उठाइरहेको छ ।

उपसभापति स्वर्णिम वाग्ले पार्टीको कार्यवाहक नेतृत्व लिन सक्ने सम्भावनामा अगाडि देखिएका छन् । वाग्लेले पार्टीलाई नयाँ दिशामा लैजाने तयारी गरेको संकेत दिएका छन् । उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग निरन्तर भेटघाट र सम्वादमा छन् । यसले मुलुकमा गैरकम्युनिस्टको ध्रुवीकरणको बारेमा गम्भीर बहस भइरहेको वाग्ले निकट स्रोतले बताएको छ । यद्यपि, रवि लामिछानेको पक्षधरहरू वाग्लेको यो रणनीतिप्रति असन्तुष्ट देखिन्छन् ।

रास्वपाको राजनीतिक भविष्य

रवि लामिछानेको कानुनी संकट र पार्टीभित्रको आन्तरिक विवादले रास्वपाको भविष्यमा गम्भीर असर पार्ने संकेत गरेको छ । रवि लामिछानेमाथि लागेको आरोपले रास्वपालाई राजनीतिक रूपमा ठूलो धक्का पु¥याएको छ । यदि उनी दोषी ठहरिए भने पार्टीभित्रको आन्तरिक संरचना फेरबदल गर्नुपर्ने आवश्यकता देखिन्छ । रास्वपाको नेतृत्वले कानुनी प्रक्रियालाई सम्मान गर्दै पार्टीभित्रको एकता कायम राख्न सक्यो भने मात्र पार्टीको अस्तित्व बच्न सक्छ ।

पार्टीले आफ्ना सिद्धान्त र वाचाहरूमा पुनः विश्वास दिलाउन सकेन भने रास्वपाको भविष्य अनिश्चित रहन सक्छ । यो संकट केवल रवि लामिछानेको व्यक्तिगत चुनौती मात्र नभई पार्टीको दीर्घकालीन भविष्यको लागि पनि निर्णायक क्षण हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट